साप्ताहिक सेवाको समीक्षा र मूल्याङ्कन

चर्चको जीवनमा निरन्तर सुधार र वृद्धिको खाँचो पर्दछ । यी सुधारका प्रयत्नहरु केवल परिवर्तन केन्द्रित नभएर चर्चको सेवामा आफैँ वृद्धि हुने प्रयास र चर्चलाई कसरी वचनबाट विश्वासयोग्य भएर सेवा पुर्याउने उद्देश्य केन्द्रित हुनुपर्छ । यो अभ्यास र प्रक्रियालाई चर्चको साप्ताहिक पात्रो वा तालिकामा मात्र सिमित नगरेर प्रार्थाना सहितको परिश्रमको मौकाको रुपमा लिनुपर्छ । यसको निम्ति धैर्यता र नम्रताको खाँचो पनि उत्तिकै पर्दछ । यसलाई प्रार्थनामा समय बिताउने र रचनात्मक आलोचना लिने—दिने अवसरको रुपमा लिन सकिन्छ ।

यस संक्षिप्त लेखमा मेरो करिब १७ वर्षको पास्टरीय सेवा र खासगरी विगत करिब ८ वर्षको अवधीमा शक्तिशाली बप्तिस चर्चले मलाई सिकाएका केही महत्वपूर्ण पाठहरु साथै अन्य पुस्तकहरु र लेखहरुको सहायताले पुर्याएको सहयोगलाई बाँड्ने कोसिस गर्नेछु ।

साप्ताहिक सेवाको समीक्षा भनेको के हो?

चर्चको साप्ताहिक सेवाको समीक्षा भन्नाले प्रत्येक हप्ता हुने स्थानीय चर्चको सामूहिक आराधना सेवाका विविध भागहरुलाई प्रार्थना, नम्रता र होसियारीको साथ पुनरावलोकन र विश्लेषण गर्ने नियमित अभ्यास हो । यसमा सामूहिक आराधनाको विविध भागहरुको विषयमा र चर्चको जीवन केन्द्रित भएर कुराकानी गरिन्छ । यो समयमा व्यवस्थापनका विभिन्न पक्षहरुमा चर्चका सदस्यहरुको उपस्थिति वा अनुपस्थिति, आगन्तुकहरुको (भिजिटर) अतिथिसत्कार, चिया वा कफीको प्रवन्ध, बस्ने सिटहरुको अवस्था, सेवाको निम्ति उपलब्ध बुलेटिन (भजन) र बाइबल जस्ता कुराहरुको व्यवस्थापन र उपलब्ध समयको समुचित प्रगोग आदि लाई होसियारी साथ ध्यान दिइन्छ ।

समीक्षा तथा मूल्याङ्कनको समयमा शनिबारको सेवाको विषय बाहेक आराधना पूर्व पा पछिका बाइबल अध्ययन कक्षाहरु (सण्डेस्कूल), बालबालिका युवा तथा विद्यार्थीहरुको सेवकाई, चर्च सदस्य बैठक आदि भए, यी कुराहरुको विषयमा पनि छलफल र प्रतिक्रिया लिइन्छ । यसले चर्चको जीवन नै पास्टरीय सेवाको अधिनमा रहेको र पास्टरीय अगुवापनले अगुवाई गरेको देखिन्छ । मुख्यतः छुटाउनै नहुने पक्ष भनेको आराधना सेवाका अगुवाइका भागहरु जस्तै अगुवाहरुको प्रार्थना र वचनको पठन, प्रचारकको प्रचारको विषयमा केन्द्रित रहेर कुरा पनि गरिन्छ।

यो अभ्यासको मुख्य उद्देश्य एकअर्काको आलोचना केन्द्रित होइन; तर सेवामा सहभागिता र अगुवाइको निम्ति एकअर्काको प्रशंसा गर्नु, सुधार र वृद्धिको निम्ति एकअर्कालाई सुझाव दिएर सहायता गर्नु, नम्रता र प्रभुको वचनमा सँगै अझ वृद्धि हुनु हो । यसको लक्ष्य सँगै वृद्धि हुने र चर्चको जीवनलाई सुधार र सेवा गर्न केन्द्रित हुनु हो ।

सेवाको समीक्षाको समयको कसरी सदुपयोग गर्ने?

यो समीक्षाको समय “गल्ती खोज्ने र आलोचना गर्ने” बैठक हुनुहुँदैन । चर्चको जीवनको निम्ति यो बुद्धिको प्रयोगको समय हो । चेलापनमा वृद्धि र चर्च सदस्यहरुको सेवा नै यसको मुख्य ध्येय हुनुपर्छ । यो समयमा चर्चको साप्ताहिक सेवाका सबै भागहरुको क्रमश रुपमा होसियारीसाथ कुराकानी गर्नुपर्छ।

  • छनौट गरिएका भजनहरु: सेवाको क्रमको निम्ति बुलेटिनमा भएका भजनहरुको जाँच गर्ने । जस्तै ती भजनहरुको ईश्वरशास्त्रीय शुद्धता, भजनहरुको क्रमको उपयोगिताका बारेमा कुरा गर्ने । पाठ गरिएका खण्डहरु र प्रचार गरिएको वचनको सत्यतासँगको भजन गीतहरुको सम्बन्धलाई विचार गर्ने ।
  • प्रार्थनाहरु र पवित्रशास्त्रका पाठहरु: सेवामा प्रार्थना अगुवाई गर्ने अगुवाहरु र भजनगीतमा अगुवाई गर्ने अगुवाहरुको अगुवाईको विषयमा कुरा गर्ने । प्रार्थना पठन वा उद्धरण गरिएका पवित्रशास्त्रका सत्यताहरु केन्द्रित भए नभएको विचार गर्ने र प्रार्थनामा बाइबलीय सत्यता र चर्चको विश्वासको सार अनुरुप भए–नभएको विचार गर्ने ।
  • प्रचार र प्रचारक: प्रचारको विषयवस्तु, ईश्वरशास्त्रीय सत्यता, व्यवहारिक प्रयोग आदिको बारेमा मनन् गर्ने । प्रचारको गुणस्तर, स्पष्टता र बाइबलीय र ईश्वरशास्त्रीय सत्यतासँग मेल खाएको वा बाझिएको बारेमा विचार गर्ने ।

सेवाको समीक्षामा को सहभागी हुने र कसले अगुवाई गर्ने?

यस प्रकारका समीक्षाको समयलाई स्थानीय चर्चको मुख्य पास्टरले अगुवाई गर्नु उपयुक्त देखिन्छ किनकि पास्टरहरु नै चर्चका जावफदेही अगुवाहरु भएकाले बाइबलीयरुपमा पास्टरको नेतृत्व स्वभाविक देखिन्छ । यदि स्थानीय चर्चको संस्थागत संरचना स्पष्ट छ भने यो समूहमा पास्टरहरु (एल्डरहरु) को सहभागिता धेरै सहयोगी मुलक हुनेछ । यदि चर्चका पूर्णकालीन कर्मचारीहरु छन् भने कर्मचारीहरु, सेवामा अगुवाई गर्ने अन्य पुरुषहरु जस्तै सेवामा वचन पाठ तथा प्रार्थनामा अगुवाई गर्ने र भजन गीत (संगीत) मा अगुवाई गर्ने बाइबलीय योग्यता पूरा भएका पुरुष अगुवाहरुको सहभागिताले पास्टरलाई अन्य पुरुषहरुलाई चर्चको अगुवाई गर्न हुर्काउने चेलापनको राम्रो मौका प्रदान गर्नेछ । यदि तपाईँको चर्चमा पाहुना प्रचारकलाई निमन्त्रणा गर्नुभएको छ भने उहाँलाई पनि सहभागी गराउन र उहाँको अघि नै कुरा गर्न नहिचकिचाउनुहोस् । पाहुना प्रचारकले प्रचारद्वारा सेवा गर्नुभए तापनि स्थानीय चर्चको पास्टरको रुपमा तपाईँ नै वगालको गोठालो र तपाईँको स्थानीय चर्चका प्राणहरुका जिम्मेवाल पनि हुनुहुन्छ ।

स्थानीय चर्चले प्रशिक्षार्थी कर्मचारी वा पास्टरीय इन्टर्नहरुलाई तालिम दिने मौका सृजना गरिरहेको भए, उनीहरुलाई प्रत्यक्ष सहभागी गराएर व्यवहारिकरुपमा हुर्कने मौका दिन सक्छन् । यदि चर्चमा अगुवाहरुको संरचना स्पष्ट नभएर वा पूर्णकालीन चर्च कर्मचारी नभएको अवस्थामा पनि स्वयम्सेवक अगुवाई जस्तै घरेलुसंगति र बाइबल अध्ययनमा अगुवाई गर्ने अगुवाहरु, सेवाका भागहरुमा अगुवाई गर्ने दाजुभाइहरुलाई सहभागी गराउन सकिन्छ । चर्चका पास्टरहरुको निम्ति व्यवहारिक र प्राविधिक दुवै रुपमा चर्चलाई गोठालो गर्ने र चेलापन गर्ने यो अर्थपूर्ण मौका हुनेछ।

सेवाको समीक्षामा सहभागी हुँदा के कस्ता कुराहरु विचार गर्ने?

अब केही व्यवहारिक प्रयोगको विषयमा पनि विचार गरौँ । यहाँ यो सूची लामो हुन सक्छन् तर म केही व्यवहारिक सुझावहरु मात्र दिन गइरहेको छु:

  • समीक्षामा आउनुपूर्व केहि समय गत शनिबार चर्चमा भएका कुरालाई मनन् गर्नुहोस् र प्रार्थना गर्नुहोस्। आफ्नो नोट बुक वा शनिबारको बुलेटिनलाई पल्टाएर हेर्नुहोस् । शनिबारको सेवामा सहभागी हुँदा तपाईँले देख्नुभएको कुराहरुलाई टिपोट गर्नुहोस् । यसले तपाईँले दिनु पर्ने सुझावहरुलाई सम्झाउनेछ ।
  • “म” भन्दा पनि “हामी” लाई केन्द्रमा राख्नुहोस् । अर्थात्, “मलाई के लाग्छ” वा “मैले के विचार गर्छु” भन्दा पनि समग्र “चर्चले कसरी सेवा गर्छ — सेवा पाउँछ” भन्ने कुरालाई मुख्य ध्येय बनाउनुहोस् । आफ्ना व्यक्तिगत प्रश्न वा विचारलाई सम्बन्धित व्यक्तिहरु जस्तै भजन—संगीतमा अगुवाई गर्ने अगुवा वा प्रचारकसँग कुरा गर्न सक्नुहुन्छ । यो समयमा मुख्यतः चर्चको जीवन केन्द्रित भएर विचार गर्नुहोस् ।
  • आफ्ना सुझवाहरु र रचनात्मक आलोचना दिनु पहिले सकारात्मक प्रशंसा र आभार प्रकट गर्नुहोस्। जसको विषयमा कुरा गर्दै हुनुहुन्छ उहाँको सेवाको निम्ति पहिले प्रशंसाका शब्दहरु खर्च गर्नुहोस् । जब सुझावहरु दिनुहुन्छ वा रचनात्मक आलोचना गर्नुहुन्छ तब निर्दिष्ट हुनुहोस् । आफैँ अस्पष्ट वा अनिश्चित भएको कुरा उल्लेख नगर्नुहोस्। उदाहरण: यस्तो समीक्षा नदिनुहोस्— “तपाईको प्रार्थना वचनको पाठमा आधारित थिएन।” यसको साटो यसरी भन्न सक्नुहुन्छ, “तपाईँको प्रार्थनामा तपाईँले प्रयोग गर्नुभएको यो ‘……’ वाक्यांश वचनको यो ‘……’ पाठसँग मेल खाएको थिएन बरु यसको साटोमा यो ‘……’ प्रार्थना गर्नुभएको भए कस्तो हुन्थ्यो ?” वा “सबै राम्रो थियो” भन्नुको साटो तपाईलाई के राम्रो लाग्यो ‘……’ र किन, त्यो के कारणले राम्रो लाग्यो ‘……’ पनि स्पष्ट व्यक्त गर्नुहोस् ।
  • आफु संयम हुनुहोस् र विनम्रताको ख्याल गर्नुहोस् । चाहे हामी सुझाव र रचनात्मक आलोचना दिइरहेकाहरु होऔँ, वा लिइरहेका होऔँ नम्रतालाई मुख्य लक्ष्य बनाउनुहोस् । खासगरी जब हामी सुझाव ग्रहण गरिरहेका हुन्छौँ आफैँलाई रक्षात्मक नबनाउनुहोस् । दिइएका सुझावहरुको जवाफ दिनु पर्दैन । जवाफ फर्काउन नहतारिनुहोस् तर सोच्न—मनन् गर्न समय लिनुहोस् । स्व—मुल्याङ्कनको निम्ति आवश्यक समय लिनुहोस् । दिइएका सुझाव रआलोचनाको निम्ति धन्यवादी हुनुहोस् ।
  • आफ्नो अगुवा र एक—अर्कालाई आदर गर्नुहोस् । समीक्षाको समयमा बोल्दैगर्दा क्रमशः समय लिनुहोस् वा अगुवाई गरिरहनु भएको पास्टर—एल्डर वा अगुवाको निर्देशनलाई पछ्याउनुहोस् । यदि पुनः बोल्नु पर्ने भए अनुमति लिएर मात्र बोल्नुहोस् । अगुवाई गर्ने अगुवाकोरुपमा एक—अर्कालाई आदर गर्नुहोस् र अगुवाको अधिनतामा रहेको उदाहरण जिउनुहोस् ।
  • समयको ख्याल गर्ने र सुव्यवस्था कायम राख्ने । हामी सबैसँग प्रशस्त समय नहुनसक्छ । हामीले समयको आदर गर्नुपर्छ। यसकारण बोल्दा वा विचारहरु बाँड्दा तोकिएको समयलाई ख्याल गर्न जरुरी हुन्छ । कोही विषयहरु कुरा गर्नैपर्ने भए सम्बन्धित व्यक्तिसँग समय मागेर प्रार्थना पछि वा अर्को उपलब्ध समयमा पनि कुरा गर्न सकिन्छ । मुख्यरुपमा आफ्नो जिम्मेवारी र परिपक्वतालाई पनि ख्याल गर्नुहोस् । अगुवाई गर्ने पास्टरले समयको ख्याल गर्ने, सम्झाना गराउने साथै शुरु र अन्त्यमा प्रार्थना सहित अन्त्य गर्नुहोस् ।

सेवा समीक्षाले कसरी चेलापन गर्छ ?

  • अगुवाहरु जसले अगुवाई गर्छन् र प्रचारकहरु जसले प्रचार गर्छन् उनीहरुले सबै कुरा आफैँ र आफ्नै आँखाले नदेख्न सक्छन्। यसैकारण हामीलाई एकअर्काको मद्दत चाहिन्छ । फलामले फलामलाई तिखार्छ भने जस्तै हामी एकअर्कालाई धारिलो बनाउन सक्छौँ ।
  • हामी सबैलाई विनम्रताको खाँचो पर्दछ, खासगरी अगुवाई गर्ने अगुवाहरुमा घमण्डको पापले राज्य गर्नसक्छ । हामी अगुवाई गर्नेहरु सिकारु हुनुहुँदैन तर सिकाउन सक्ने हुनुपर्छ तर यसको अर्थ हामीले सिक्न बन्द गर्नुपर्छ भन्ने होइन । समीक्षाको समयले हामीलाई विनम्र हृदय लिएर सिक्न मद्दत गर्दछ । हामीलाई आलोचना सहन सिकाउँछ ।
  • हामी अगुवा, प्रचार र शिक्षकहरुलाई पनि अनुशासन र चेलापनको जरुरत पर्दछ । समीक्षाका समयहरुद्वारा हामी अगुवाहरु आफैँ पनि एकअर्काको अधिनमा रहेर सिक्ने र चेलापनको अभ्यास गर्ने मौका पाउँछौँ । यसले हाम्रो आफ्नै व्यक्तिगत र चर्चको जीवनको सुधारमा महत्वपूर्ण भुमिका खेल्छ ।
  • हरेक हप्ताका यी समीक्षा भेलाले हामीलाई सेवाका जिम्मेवारीहरुमा निरास हुनबाट जोगाउँछ । एक्लोपना, दिक्दारी र एकैनासको हुने परीक्षाबाट जोगाएर चर्चको अगुवाइमा सामूहीक भावना, एकअर्काको भारको बाँड—फाँट आदि दिन्छ ।

अन्त्यमा, समीक्षा बैठकलाई केवल प्रशासनिक वा औपचारिकतामा मात्र सिमित नराख्नुहोस् । यो एउटा महत्वपूर्ण पास्टरीय सेवाको मौका पनि हो । यसले हामीलाई चर्चको अगुवाईमा वचन केन्द्रित हुन मद्दत गर्छ । चर्चको सेवा र सुधारको क्षेत्रमा पनि महत्वपूर्ण उपकरणको भुमिका खेल्छ साथै चर्च सदस्यहरुको सेवा गर्ने कुरामा विनम्र र गम्भिर बनाउँछ । यस्तो समयको मौकाहरु चर्चको सेवा गर्ने अगुवाहरुको निम्ति अनुशासन र तालिमको राम्रो मौका पनि हुनेछ । हाम्रो लक्ष्य सधैँ सेवा र चेलापन केन्द्रित हुनुपर्छ । हामी सेवा गर्नेहरु सँगै र एक स्थानीय चर्चकोरुपमा कसरी परमेश्वरको महिमा केन्द्रित हुनसक्छौँ त्यसलाई मनमा राख्नुपर्छ ।

थप सामग्रीहरु (सन्दर्भ सामग्रीहरु)

Book: Preach: Theology Meets Practice — Mark Dever & Greg Gilbert

Mr. Prem Narayan Bhattarai

Prem Narayan Bhattarai

Pastor

He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.

Leave a Reply

Your email address will not be published. Required fields are marked *