कुवचनका बारेमा पवित्रशास्त्रले के भन्छ ?

“कुनै कुवचन तिमीहरूको मुखबाट ननिस्कोस्, तर आवश्यक उन्नतिका निम्ति जुन कुरा असल छ, त्यही कुरा मात्र निस्कोस्, र त्यसले सुन्नेहरूलाई अनुग्रह प्रदान गरोस् ।”
एफिसी ४ः२९

यहाँ “कुवचन” भनेर अनुवाद गरिएको मूल ग्रीक शब्दको अर्थ सडेको, कुहिएको, बिग्रिएको वा उपयोगहीन भन्ने हुन्छ । यही शब्द प्रभु येशूले मत्ती ७ः१७–१८ मा “बिग्रेको रूखले खराब फल फलाउँछ” भनेर प्रयोग गर्नुभएको छ । त्यसैले कुवचन भनेको केवल गाली–गलौज वा अश्लील भाषा मात्र होइन । यसमा झूट, निन्दा, गाली, कटु–व्यङ्ग्य, अपमान, रिसले भरिएका शब्दहरू, विभाजन ल्याउने कुरा, चरित्रहत्या गर्ने आरोपहरू, अश्लील मजाक, अहंकार वा घमण्डपूर्ण बोली, र सत्यलाई तोडमोड गरेर अरूलाई चोट पु¥याउने सबै प्रकारका शब्दहरू पर्छन् ।

यदि हाम्रो बोलीले मानिसलाई आत्मिकरूपमा निर्माण गर्नुको सट्टा भत्काउँछ, निराश बनाउँछ वा पापतर्फ धकेल्छ भने त्यो परमेश्वरको दृष्टिमा अशोभनीय बोली हो । एउटा सुसमाचारले परिवर्तन गरेको ख्रीष्टियानको निम्ति यस्तो प्रकारका बोलीहरू सुहाउँदैन । पावलले फेरी कलस्सी ४ः६ मा लेख्छन्, “तिमीहरूको वचन सधैं अनुग्रहले पूर्ण, नुनले स्वादिलो पारिएको होस्, कि हरेकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरूलाई थाह होओस् ।”

हाम्रो ओठ र जिब्रो हाम्रो हृदयको झ्याल हो । प्रभु येशूले भन्नुभयो, “…तिमीहरू खराब भएर कसरी असल कुराहरू बोल्न सक्छौ ? किनकि हृदयको भरपूरीबाट नै मुखले बोल्दछ । असल मानिसले हृदयको असल ढुकुटीबाट असल कुराहरू निकाल्छ र दुष्ट मानिसले दुष्ट ढुकुटीबाट दुष्ट कुराहरू निकाल्छ ।” (मत्ती १२ः३४–३५) त्यसैले मानिसको बोलीको समस्या मूलतः ओठ–जब्रोको समस्या मात्र होइन; यो हृदयको समस्या हो । जब हाम्रो हृदयमा घमण्ड, रिस, डाह, आफुकेन्द्रित विचार वा प्रेमको अभाव हुन्छ, ती कुराहरू अन्ततः शब्दहरूको रूपमा बाहिर निस्कन्छन् ।

याकूब ३ः९–११ ले हामीलाई यसरी चेतावनी दिन्छ,

“अनि यसैले हामी परमेश्वर र पिताको स्तुति गर्छौं, र यसैले हामी परमेश्वरको स्वरूपमा बनिएका मानिसहरूलाई श्राप दिन्छौं । एउटै मुखबाट आशिर्वाद र श्राप निस्कन्छन् । हे मेरा भाइहरूहो, यी कुराहरू यस्तो हुनुहुँदैन। के धाराले एउटा मुहानबाट मीठो र तीतो पानी निकाल्छ र ?”

हामी शनिबार चर्चमा वा विश्वासीहरूको बीचमा हुँदा आफ्ना बोलीमा लगाम लगाउँछौँ, तर चर्चबाहिर हाम्रो बोलीवचन संसारका मानिसहरूको जस्तै हुन्छ भने त्यो दोहोरो चरित्र हो । हामी शनिबार चर्चमा भेला भएर परमेश्वरको आराधना गर्ने, तर हप्ताभर आफ्ना दाजुभाइ–दिदीबहिनी, परिवार वा अरू मानिसहरूलाई बदनाम गर्ने, भत्काउने, कुराकाट्ने र चोट पुर्याउने शब्दहरू बोल्ने मानिसहरू हुनुहुँदैन । यस्तो दोहोरो जीवन ख्रीष्टको चरित्रसँग कहिल्यै मेल खाँदैन । साँचो भक्तिको प्रमाण केवल आराधनाको समयमा बोलिने शब्दहरूमा होइन, तर हप्ताका हरेक दिन हाम्रो मुखबाट निस्कने वचनहरूमा पनि देखिनुपर्छ ।

प्रभु येशूले भन्नुभयो, “तर म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा, जो मानिसहरूले बोल्लान्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनेछन्। किनभने तिमी आफ्नै वचनहरूद्वारा धर्मी ठहरिनेछौ र आफ्नै वचनहरूद्वारा दोषी ठहरिनेछौ ।” (मत्ती १२ः३६–३७)

हरेक ख्रीष्टियानले आफ्नो बोलीवचन र शब्दहरूलाई सुसमाचारको आधारमा जाँच्नुपर्छ । ख्रीष्टले हामीसँग कहिल्यै कठोरता, अपमान वा तिरस्कारका शब्दहरू बोल्नुभएन । बरु उहाँका वचनहरू सत्य, अनुग्रह र प्रेमले भरिएका थिए । त्यसैले ख्रीष्टमा नयाँ सृष्टि भएका हामी दयालु, नम्र, कोमल, धैर्यवान् र करुणाले भरिएका मानिसहरू हुनुपर्छ (कलस्सी ३ः१२–१४) । यसको अर्थ हामीले सत्य नबोल्ने भनेको होइन; तर सत्यलाई प्रेमसाथ बोल्ने मानिसहरू हुनुपर्छ (एफिसी ४ः१५) । हाम्रो बोलीले निश्चय नै पापलाई सच्याउनुपर्छ तर सच्याउने काम प्रेमसाथ गरिनुपर्छ । हाम्रो मुखबाट निस्कने प्रत्येक शब्दहरूले सुन्नेलाई अनुग्रह, सान्त्वना, उत्साह मिलोस् । हाम्रा बोलीवचनले अरुलाई आत्मिकरुपमा निर्माण गरोस् ।

Mr. Prem Narayan Bhattarai

Prem Narayan Bhattarai

Pastor

He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.