ख्रीष्टमसको साँचो अर्थ

ख्रीष्टमस संसारका प्रायः सबै देश, भाषा र संस्कृतिमा खुशी र उत्सवकोरूपमा मनाइन्छ । मानिसहरू राम्रा र खर्चिला सजावट गर्छन् । एकअर्कासँग उपहार साटासाट गर्छन् । राम्रा पहिरनमा सजिएर हिँड्छन् । मीठो खाना खान्छन् । भजन, गीत र सङ्गीतमा रमाउँछन् । यी प्रायः सबै कुरा तपाईँले आज चर्चमा हुने ख्रीष्टमसका कार्यक्रम, भेला वा सेवाहरूमा पनि देख्नुहुन्छ ।

तर के ख्रीष्टमसको साँचो अर्थ सजावट, खाना, पहिरन वा सङ्गीत हुन् त ? कतै यी सबैको बीचमा हामीले ख्रीष्टमसको वास्तविक अर्थलाई त बिर्सिरहेका छैनौँ ? हाम्रो उत्सवको तयारी ठूलो हुन्छ, तर उद्धारकर्ताको निम्ति स्थान सानो हुनसक्छ । जति हाम्रो बाहिरी तयारी भव्य हुन्छन् तर हाम्रो हृदय उत्ति नै साँघुरो हुनसक्छ ।

धेरै पटक हामी ख्रीष्टमससँग सम्बन्धित कुराहरूमा त आनन्द लिन्छौँ, तर ख्रीष्टमसको कारण हुनुभएको ख्रीष्टलाई नै बेवास्ता गर्छौँ । कल्पना गर्नुहोस्, तपाईं एउटा बालक वा बालिकाको जन्मदिनको पार्टीमा जानुहुन्छ । त्यहाँ त्यो बालक वा बालिकाको प्रशस्त खेल्ने सामग्रीहरू छन् । तपाईँ ति खेलौनाहरू देखेर मख्ख गर्नुहुन्छ । ती खेलौनाहरूमा रमाउनुहुन्छ । त्यहाँ मिठो खानको योजना पनि गरिएको छ र तपाईँ ती खानाका परिकारहरूमा रमाउनुहुन्छ । त्यहाँ उपहारहरू पनि ल्याइएका हुन्छन् । ती उपहारहरू कति राम्रा, बहुमूल्य र रंगीचंगी प्लास्टिकले बेह्ररिएका देख्नुहुन्छ । त्यहाँको बातावरण वास्तवमै रमाइलो हुनसक्छ । जन्मदिनको निम्ति केक छ, चकलेटहरू पनि छन् । त्यो जन्मदिन मनाउने स्थानलाई निक्कै राम्ररी सजाइएको हुनसक्छ । यी सबै कुराहरूले तपाईँको ध्यान खिचिरहेको हुन्छ ।

तर त्यो जन्मदिन जसको हो, त्यो बालक वा बालिकालाई चाहिँ बेवास्ता गरिन्छ । तपाईँ जसको जन्मदिन हो उसलाई खासै वास्ता नै गर्नुहुन्न । तपाईं उसलाई धन्यवाद दिनुहुन्न । उसँग कुरा गर्नुहुन्न । तपाईं त्यो जन्मदिनमा, त्यहाँभएका सबै कुरामा रमाउनुहुन्छ । तर, त्यहाँ भेला हुने मुख्य कारणलाई नै बेवास्ता गर्नुहुन्छ । यस्तो जन्मदिन अर्थहीन हुन्छ । त्यहाँ अपमानजनक व्यवहार भइरहेको हुन्छ ! आजको संसारमा दुःखलाग्दो कुरा, धेरै मानिसहरूको लागि ख्रीष्टमस पनि यस्तै भएको छ । मानिसहरूको ध्यान उपहारमा छ । रमाइलो र मनोरन्जन केन्द्रीय विषय बन्छन् । ख्रीष्टमस एउटा चाड वा परम्परा बनेको छ । तर, मानिसहरूको ध्यान येशू ख्रीष्टमा छैन ।

तर प्रिय मित्रहरू, ख्रीष्टमस केवल एउटा धार्मिक चाड मात्र होइन । यो एउटा सांस्कृतिक उत्सव मात्र पनि होइन । यो त हामी मानिसहरू परमेश्वरबाट अलग भएको अवस्थामा, हाम्रो निम्ति परमेश्वरको उद्धारको घोषणा हो । ख्रीष्टमस एउटा संदेशको बारेमा हो, अन्धकारमा भएका, अशाबिहिन र पापमा डुबेका मानिसहरूको निम्ति छुटकाराको सन्देश । पवित्र बाइबलले भन्छ—

“नडराओ; किनभने हेर, म तिमीहरूलाई बड़ो आनन्दको शुभ समाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ; ११किनकि आज तिमीहरूका निम्ति दाऊदको शहरमा एकजना मुक्तिदाता जन्मिनुभएको छ, जो ‘ख्रीष्ट’ प्रभु हुनुहुन्छ ।” (लूका २ः१०—११) ।

यो सत्य हो प्रभु येशू ख्रीष्ट मानिस भएर यस संसारमा जन्मनुभयो । तर उहाँ केवल बालक भएर जन्मनु मात्र भएन । उहाँ हामी पापीहरूलाई बचाउन आउनुभयो । उहाँ हाम्रो पापको समस्या समाधान गर्न यस संसारमा आउनुभयो । पवित्र बाइबलमा यसरी लेखिएको छ,

“किनकि उहाँमा हामी परमेश्वरको धार्मिकता बन्न पाऔं भनेर पापै नजान्नुहुनेलाई परमेश्वरले हाम्रा निम्ति पाप तुल्याउनुभयो ।” (२ कोरिन्थी ५ः२१)

ख्रीष्टमसको साँचो अर्थ हामी के गर्छौँ होइन तर ख्रीष्टले हाम्रो निम्ति के गर्नुभएको भन्ने हो । हामी केवल एउटा बालकको जन्मदिनमा उसको आदर र प्रशंसाको निम्ति होइन तर उहाँले हाम्रो साटोमा पूरा गर्नुभएको मुक्तिको कामको निम्ति आदर र प्रशंसा गर्दर्छौँ । उहाँले हाम्रो स्थानमा धर्मी जीवन जिउनुभयो र क्रूसमा मर्नुभयो । यो हाम्रो निम्ति नै थियो, ताकि हामी पवित्र परमेश्वरसँग मेलमिलापमा आउन सकौँ । मानिसहरूको निम्ति मुक्ति ल्याउने ख्रीष्ट जन्मको सन्देश गोठमा जन्मनुभएको ख्रीष्ट जन्मको संदेश गोठालोमा सुरू भएको थियो, जुन गलगथाको क्रूसमा पुगेर पूरा हुन्छ ।

ख्रीष्टमसको वास्तविक अर्थ यही हो कि के ख्रीष्ट तपाईंको ख्रीष्टमसको केन्द्रमा हुनुहुन्छ ? ख्रीष्टमसले तपाईंलाई बाहिरी उत्सव, मनोरन्जन र परम्परातर्फ भन्दा पनि हृदयको साँचो उद्धारतर्फ औँल्याउनुपर्छ । साँचो ख्रीष्टमस चाड वा परम्पराको पालना गर्न होइन तर हाम्रा उद्धारकर्तामा भरोसा हो ।

Mr. Prem Narayan Bhattarai

Prem Narayan Bhattarai

Pastor

He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.

Leave a Reply

Your email address will not be published. Required fields are marked *