हाम्रो एकताको स्रोत — भजनसंग्रह १३३:१—३
भजनसंग्रह १३३ को भजन दाउदको भजन मानिन्छ । यसको अर्थ हो, राजा दाउदले यो लेखेका वा गाएका हुन् । यसको शिर्षक दाऊदको शोभा–यात्राको गीत भनिएको छ । यो भजन शोभा यात्राको भजन हो अर्थात् पवित्र पर्वतमा उक्लदैँ गर्दाको सामूहीक भजन । यो प्रकारको भजनलाई यात्राको भजन वा गीत पनि भनिन्छ । भजनसंग्रहमा १२० देखि १३४ सम्म जम्मा १५ वटा यस्ता भजनहरु छन् । यी भजनहरु सियोन पर्वतमा उक्लदैँ, यरुशलेम प्रवेशमा मन्दिरतिर पवित्र तिर्थ यात्रामा जाँदा समूहमा गाइन्थे ।
भजनसंग्रह १३३ ले परमेश्वरले आफ्ना जनहरू बीचको एकतालाई कति मूल्यवान ठान्नुहुन्छ भन्ने कुराको गहिरो सम्झना गराउँछ । हारूनमा अभिषेक गरिएको तेल र सियोन पर्वतमा हेर्मोनको शीत जस्तै, एकता स्फूर्ति दिने, जीवन दिने र परमेश्वरको आशिषसँग तुलना गरिएको छ । यो एकता आवश्यकता मात्र होइन; यो त्यो ठाउँ हो जहाँ परमेश्वरले आशीर्वादको आदेश दिनुहुन्छ । एकअर्कासँगको हाम्रो सम्बन्धले पवित्र अर्थ राख्छ भन्ने कुरामा जोड दिन्छ । हाम्रो जीवन र समुदायको रुपमा मनन् गर्दा, हामी परमेश्वरको अनुग्रह र अनन्त जीवन ल्याउने यो एकतालाई मनमा राख्नुपर्छ भन्ने सन्देश यो भजनमा छ ।

पद १ मा, १हेर, दाजुभाइहरू एकतामा एकसाथ बस्नुचाहिँ कति असल र कति मनोहर कुरा हो ! दाजुभाइहरू एकतामा बस्नु कति राम्रो र रमाइलो हुन्छ ! दाऊदले भजनसंग्रह १३३ को सुरुवात् एकताको सुन्दरताको प्रशंसा गर्दै गर्छन्, विशेष गरी दाजुभाइहरू (वा मानिसहरू) एकतामा बस्दाको रमाइलोपनलाई जोड दिन्छन् ।
नेपालीमा पनि एउटा उखान नै छ नि— एकता नै बल हो । यहाँ दाजुभाइहरू भन्नाले, परमेश्वरका मानिसहरूलाई जनाउँछ । जसलाई प्रायः सँगी विश्वासीहरू वा विश्वासको समुदायका सदस्यहरूको रूपमा व्याख्या गरिन्छ । यसले तिनीहरू बीचको एकता र संगतिलाई जोड दिन्छ ।
पद २ र ३ मा, २यो त शिरमाथिको त्यो उत्तम तेलजस्तो हो, जो दाह्रीमा, अँ, हारूनको दाह्रीमा बगेथ्यो, जो बग्दै–बग्दै उनका वस्त्रहरूको किनारसम्मै पुग्यो । ३यो हेर्मोनको शीतजस्तो हो, जो सियोनका पहाड़हरूमाथि खस्छ; किनभने परमप्रभुले त्यहीं नै आशिष्, अर्थात् सदा–सर्वदा रहने जीवन ठहर्याउनुभयो ।
यो त शिरमा खन्याइएको बहुमूल्य तेल जस्तै हो, दाह्रीमा बगिरहेको, हारूनको दाह्रीमा बगिरहेको, उनको पोशाकको कलरमा बगिरहेको । यो त सियोन पर्वतमा हेर्मोनको शीत झरिरहेको जस्तो छ । किनकि त्यहाँ परमप्रभुले आफ्नो आशीर्वाद, यहाँसम्म कि सदाको लागि जीवन पनि प्रदान गर्नुहुन्छ । दाऊदले एकतालाई दुई महत्वपूर्ण कुराहरूसँग तुलना गर्छन् ।
- पहिलो, हारूनलाई अभिषेक गर्न प्रयोग गरिने बहुमूल्य तेलसँग, जुन ईश्वरीय नियुक्ति र आशिषको प्रतीक हो । तल बग्ने तेलले यो आशिष खन्याइएको र प्रशस्ततालाई जनाउँछ । हारुन, चाहिँ मोशाका दाजु, इस्राएलका पहिलो प्रधानपुजाहारी थिए । उनी इस्राएलको एकता, पवित्रताको प्रतिक थिए ।
- दोस्रो, एकतालाई सियोन पर्वतमा झर्ने हर्मोन पर्वतको शीतसँग तुलना गरिएको छ, जसले स्फूर्ति र जीवन दिने गुणहरूलाई संकेत गर्दछ ।
भजनसंग्रह यो दाबीका साथ समाप्त हुन्छ कि यस्तो एकतामा, परमेश्वरले आफ्नो आशीर्वाद र अनन्त जीवनको आज्ञा दिनुहुन्छ । यस भजनको मनन्बाट हामीले के सिक्न सक्छौँ ?
- के तपाईको आनन्द र भक्ति यस चर्चका ख्रीष्टका सन्तानहरुसँगको एकतामा खोज्नुहुन्छ ? पहिलो, एकता एउटा उपहार र जिम्मेवारी दुवै हो भन्ने बुझेर सँगी विश्वासीहरूसँगको सम्बन्धलाई प्राथमिकता दिनुहोस् र त्यसमा निरन्तर लगानी गर्नुहोस् ।दोस्रो, ख्रीष्टको शरीर भित्रको विविधतालाई हाम्रो आनन्दको रुपमा उत्सव मनाउनुहोस्, एकताको अर्थ एकरूपता होइन तर सहअस्तित्व हो । हामी सबै एकअर्काका अंगहरु भएर शरीरको निर्माणमा साथसाथै हिँड्नुपर्छ ।
पावलले पनि यसरी लेख्छन्: मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर १ एउटै शरीर छ, र एउटै आत्मा हुनुहुन्छ, जसरी तिमीहरू पनि तिमीहरूको बोलावटको एउटै आशामा बोलाइएका छौ । एफेसी ४:३ एफेसी ४: ४०
प्रियहरु हाम्रो एकताको स्रोत हामी ख्रीष्टका सन्तानहरु हुनुमा भेटिनुपर्छ । हामी हाम्रो उमेर, हाम्रो भाषा, हाम्रा रुची, खानाका परिकार, वा लगाउने लुगामा नखोजौँ । हामी हाम्रो एकता हामी ख्रीष्टका मानिसहरु हुनुमा भेटिनुपर्छ । यसलाई विचार गर्नुहोस्, के तपाई चर्चका सदस्यहरुसँग भेट्न, र समय विताउन इच्छुक हुनुहुन्छ ?
यहाँ भजनको अन्त्यमा, किनभने परमप्रभुले त्यहीं नै आशिष्, अर्थात् सदा–सर्वदा रहने जीवन ठहर्याउनुभयो भनिएको छ । परमप्रभु आफ्ना जनहरूको लागि एकता र आशिषको परम स्रोत हुनुहुन्छ । हामी, ख्रीष्टियान परिवारका सदस्यहरुले हाम्रो एकता हाम्रा प्रभु, जो ख्रीष्ट हुनुहुन्छ उहाँमा भेट्नुपर्छ ।

Prem Narayan Bhattarai
Pastor
He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.