यहूदाको सिंह—उत्पत्ति ४९ः८—१२

परिचय
यदि तपाई पहिलो पटक शक्तिशालीको ख्रीष्टमस सेवामा हुनुहुन्छ भने तपाईंलाई स्वागत छ । आज तपाईंको विदाको दिन हो, र पनि अरु कुराहरुमा अल्मलिनुको साटो, वा अर्को कुनै कुरालाई प्राथामिकता बनाउनुको साटो वा अर्को स्थानमा जस्तै पिकनिक, वा किनमेल वा अर्को कुनै पारिवारीक भेट, वा अर्को चर्च जानुको साटो शक्तिशालीलाई नै छनौट गर्नुभएको निम्ति पनि धन्यवाद ।

ख्रीष्टमस, ख्रीष्ट येशू प्रभु मानव शरीरमा आउनुभएको ऐतिहासिक घटनाको एउटा सम्झना हो । तर यो कुनै मानिस जन्मिएर, केही काम गरेर, मरेर गएपछिको “मानिसको जन्मजयन्ती” जस्तो होइन ।

येशूको हुनुहुन्छ ? के एकजना नैतीक गुरु ? वा आदर्श पुरुष ? एकजना क्रान्तिकारी ? वा धर्मका प्रवर्तक ? आज म येशूको विषयमा एउटा फरक सत्यता, तर सबै मानिसको निम्ति जीवनकै अत्यावश्यक सत्यता सम्झना गराउन चाहन्छु ।

  • आजको यस चर्चको सजावट वा डेकोरेशन तपाईंलाई राम्रो नलागोस् (डेकोरेशन गर्नेहरु कृपया निराश नहुनुहोला) । मलाई थाहा छ तपाईंहरुले यसलाई धेरै मेहनत गरेर तयार गर्नुभएको छ र यो सुन्दर पनि देखिएको छ ।
  • आजको यहाँको संगीत तपाईंलाई मन नपरोस् (भजनगीतमा अगुवाई गर्नेहरु पनि निराश नहुनुहोस्) । आजका हामीले गाएका भजनहरु साह्रै राम्रा र सत्यताले भरिपूर्ण थिए । त्यसलाई मैले नराम्रो भनेको होइन फेरी ।
  • आजको ख्रीष्टमसको भोज पनि तपाईंलाई मन नपरोस् (खानाको योजना गर्ने, २र३ दिन देखी यसको लागि खट्ने साथीहरु निरास नहुनुहोस्) । मलाई थाहा छ तपाईंले आजको भोजन मीठो मान्नुहुनेछ ।
  • आज हामीले लगाएका पहिनहरुले तपाईंलाई सन्तुष्टि नदेओस् । फेरी मलाई गलत नबुझ्नुहोस् । तपाईं राम्रो देखिनुभएको छैन भन्ने मेरो आशय पनि होइन । तपाईंहरु निश्चय नै धेरै धेरै नै राम्रा, राम्री देखिनुभएको छ ।

अब त्यसो भए ख्रीष्टमसमा के महत्वपूर्ण छ त ? यही कुरालाई म आजको प्रचारमा प्रष्ट बनाउने छु ।

आजको पाठ बाइबलको पहिलो पुस्तक उत्पत्तिबाट रहेको छ । जुन पाठ भर्खरै दाजु थमले हाम्रो निम्ति पढिदिनुभयो ।

पाठ: उत्पत्ति ४९ः८—१२
हे यहूदा, तिमी उही हौ, जसलाई तिम्रा दाजुभाइहरूले प्रशंसा गर्नेछन्; तिम्रो हात तिम्रा शत्रुहरूको गर्दनमा हुनेछ; तिम्रा बाबुका छोराछोरीहरूले तिमीलाई दण्डवत् गर्नेछन् ।
यहूदा सिंहको डमरु हो, हे मेरो छोरा, शिकार गरेर तिमी माथि आएका छौ; ऊ झुकेको छ; ऊ सिंहझैं, अँ सिंहनीझैं लेटेर सुतेको छ; कसले उसलाई उठाउला ?
१०शिलो नआउन्जेल यहूदाबाट न राजदण्ड हट्नेछ, न ता उसको वंशबाट व्यवस्था दिनेवाला हट्नेछ; अनि जाति–जातिका मानिसहरूको आज्ञापालन उहाँलाई हुनेछ ।
११उसले गाँड़ूलाई दाखको बोटमा, र आफ्नो गधाको बच्चालाई उत्तम जातको दाखको बोटमा बाँध्नेछ; उसले आफ्ना कपड़ाहरू दाखमद्यमा र आफ्ना लुगाहरू अङ्गुरहरूको रगतमा धुनेछ ।
१२दाखमद्यले उसका आँखा राता, र दूधले उसका दाँत सेता हुनेछन् ।

यो छोटो वाक्याशंलाई ध्यान दिनुहोस्: सिंहको डमरु, यो बाइबल पहिलो पुस्तक उत्पत्ति र अन्तिम पुस्तक प्रकाशको पुस्तमा दिइएको एउटा प्रतीक (Symbol) हो ।

म यसको केही सन्दर्भलाई प्रष्ट पार्छु । आजको पाठ उत्पत्तिमा याकूब नाउँ गरेका एकजना वृद्ध पुरुषले आफ्ना १२ जना छोराहरुलाई आफ्नो मृत्यु अघि अन्तिम शब्दहरु दिइरहेका छन् ।

यदि तपाईंलाई बाइबलको कथारेखा थाहा छैन भने, परमेश्वरले अब्राहामलाई बोलाउनुभयो र भन्नुभयो म तँबाट एउटा ठूलो जाति बनाउने छु । अब्राहाम र उनकी पत्ती सारा दुवै वृद्ध थिए । तर परमेश्वरले उनीहरुलाई करार गर्नुभए अनुसारको छोरो इसाहाक दिनुभयो । इसाहाकका दुइजना छोरा थिए । तिनै मध्येका एकजनाको नाउँ चाहिँ याकूब हो । तिनै याकूबले यहाँ आफ्ना छोराहरुलाई आशिष दिइरहेका छन् ।

ती १२ छोराहरु इस्राएल भन्ने जाति र देशका १२ वटा कूलहरु हुनेथिए । हरेक १२ कूलहरुका निम्ति यहाँ भिन्न भविष्य कोरिएको छ । आजको हाम्रो पाठचाहिँ यहूदा नाउँ गरेका छोरोको बारेमा हो । यहूदा याकूबका चौथो छोरो थिए –पहिलो रुबेन, दोश्रो शिमियोन, तेश्रो लेवी, र चौथो याकूब) ।

उत्पत्तिमा याकूबले यहूदालाई सिंहको डमरु भनेका छन् । हेर्नुहोस्

  • यहाँ पद ८ मा यहूदा लाई सम्बोधन गरिएको ।
  • पद ९ मा यहूदालाई सिंहको डमरु भनिएकोछ ,
  • पद १० मा यहूदाबाट न राजदण्ड हट्नेछ, न ता उसको वंशबाट व्यवस्था दिनेवाला हट्नेछ भनिएको छ ।

याकूबले आशिष दिन्छन् कि उनक दाजुभाइहरुले यहूदाको प्रसंशा गर्नेछन् र दण्डवत गर्नेछन् (पद ८ मा) ।

हेर्नुहोस् पद ९ मा अब,
यहूदा सिंहको डमरु हो, हे मेरो छोरा, शिकार गरेर तिमी माथि आएका छौ; ऊ झुकेको छ; ऊ सिंहझैं, अँ सिंहनीझैं लेटेर सुतेको छ; कसले उसलाई उठाउला ?

यकूबका अनुसार राजदण्ड यहूदाबाट हड्नेछैन । व्यवस्था दिनेवाला हट्नेछैन । कहिले सम्म ? जाति–जातिका मानिसहरूको आज्ञापालन उहाँलाई हुने –पद १० मा ।

राजदण्डको अर्थ अधिकार र शासन हो । तर यदि राजदण्ड भाँचियो भनिन्छ भने, अधिकार र शासन गुम्यो भन्ने हुन्छ ।

यो मसिह येशूको विषयमा भएको भविष्यवाणी हो ।

यहूदाको निम्ति दिइएको यो आशिष, उनको कूलबाट राजा आउनेछन् भन्ने हो । अर्थात् यहूदा राजकीय कूल हुनेछ । इस्राएलका महान् राजा दाउद, यहूदाका कूलका थिए । दाउदलाई परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि उसको सिंहासनको अन्त्य कहिल्यै हुनेछैन (२ शामूएल ७ः१३; १६) ।

सिंहले शक्तिलाई जनाउँछ । सिंह शक्ति, उग्रता र महिमाको प्रतिक पनि हो । सिंहलाई जंगली जनावरहरुको राजा भनिन्छ । यहूदाका कूलको सिंह सबैथोकको राजा हुनुहुन्छ । बाइबलमा पुरानो करारमा केही स्थानहरुमा परमेश्वरलाई सिंहकोरुपमा पनि चित्रण गरिएको छ ।

एउटा उदाहरण यशैया ३१ः४ मा,

किनकि परमप्रभुले मलाई यसो भन्नुभएको छः जब सिंह, अँ, जवान सिंह आफ्नो शिकारमाथि गर्जन्छ, र त्यसको विरोधमा गोठालाहरूको भीड़ बोलाइन्छ, तब तिनीहरूको सोरसँग त्यो डराउनेछैन, र तिनीहरूको हल्लाखल्लाले त्यो झुक्नेछैन; त्यसरी नै सेनाहरूका परमप्रभु सियोन पर्वतका निम्ति र त्यसको डाँड़ाका निम्ति लड़ाइँ गर्न ओर्ली आउनुहुनेछ ।

सिंह झैं, परमप्रभु आफ्ना शत्रूहरुसँग डराउनुहुन्न । उहाँले आफ्ना मानिसहरुको रक्षा गर्नुहुन्छ । आफ्ना मानिसहरुलाई अरुहरुले उनीहरुलाई आक्रमण गरेको र नियन्त्रण गरेको चाहनुहुन्न । परमप्रभुले आफ्ना मानिसको रक्षा गर्नुहुन्छ । यो उहाँको माया, करुणा, भलाई र असलपनाको चरित्र हो ।

तर यसको ठीक उल्टो होशेमा परमप्रभुको अर्को चरित्र पनि बताइएको छ । होशे १३ः७—९ मा,

यसैले म तिनीहरूका निम्ति एउटा सिंहजस्तो हुनेछु; एउटा चितुवाले झैं बाटोमा म तिनीहरूलाई ढुकेर बस्नेछु । बच्चाहरू खोसिएको भालुले झैं म तिनीहरूलाई भेट्नेछु, र तिनीहरूको मुटुमाथिको छाती च्यातिदिनेछु; अनि त्यहाँ सिंहले झैं म तिनीहरूलाई निल्नेछु; एउटा जङ्गली पशुले तिनीहरूलाई च्यातचुत पार्नेछ । हे इस्राएल, तँ नाश भएको छस्; तर ममा तेरो सहायता छ ।

यहाँ होशेले इस्राएलको विरुद्धमा अगमवाणी गरेका छन् । इस्राएल परमप्रभुको विरुद्धमा विद्रोही भएको छ । परमेश्वरको यो चरित्र निक्कै डरलाग्दो छ । परमप्रभुको न्याय कसले सहन सक्छ ? के परमेश्वरको सुरक्षाको निम्ति गोहार माग्नु भलो होइन र ? निश्चय नै परमप्रभुको सुरक्षा र सहायता असल हो । उहाँको रिस, आवेग, क्रोध, दण्ड निश्चय नै पिडादायी हुन्छ ।

हामी सबै मानिसहरुको नियती यही नै हो । हामी परमेश्वरको विरुद्धमा निरन्दर वागी भएका छौं ।

रोमी ३ः१०—१२; २३ मा यसरी लेखिएको छ—

१०जस्तो लेखिएको छः ‘धर्मी कोही छैन, एउटै पनि छैन;
११बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन ।
१२तिनीहरू सबै बाटोदेखि भड्किएका छन्, तिनीहरू एकैसाथ बेकम्मा भएका छन्; असल गर्ने कोही छैन, एउटै पनि छैन ।’
२३किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुन गएका छन् ।

हामी सबै परमेश्वरको क्रोध मुनि छौं । यो हाम्रो लागि सुखद खबर होइन ।

अब बाइबलको अन्तिम पुस्तक प्रकाशको पुस्तकमा हेरौँ ।

प्रकाश ५ः५ मा फेरी यसरी लेखिएको छ,

अनि ती प्राचीनहरूमध्ये एकजनाले मलाई भनेः “नरोऊ ! हेर, यो पुस्तक खोल्न र यसका सातओटा छापहरू तोड़्नलाई यहूदा कुलको सिंह, दाऊदको जरा विजयी हुनुभएको छ ।” (प्रकाश ५ः५)

येशू शताब्दीऔं देखि मानिसहरुले पर्खिएको यहूदाको सिंह हुनुहुन्छ । प्रकाशका लेखक प्रेरित यूहन्ना रोइरहेकाछन् । किनकी त्यहाँ परमेश्वरको न्यायको छापहरु खेल्न कोही पनि छैन । यतिसम्म कि खोलेर हेर्ने पनि कोही छैन । तब, एकजना एल्डरले यसो भन्छन्, “नरोऊ ! हेर, यो पुस्तक खोल्न र यसका सातओटा छापहरू तोड़्नलाई यहूदा कुलको सिंह, दाऊदको जरा विजयी हुनुभएको छ ।”

मत्ती र लूकाको सुसमाचारमा येशूलाई यहूदाको कूलको भनेर चिनाइएको छ ।

मत्ती १ः१ मा, अब्राहामका पुत्र, दाऊदका पुत्र येशू ख्रीष्टको वंशावलीको पुस्तक (वा लूका ३ः२३—३८) ।
येशू प्रतिज्ञा गरिएको यहूदाको कूलको सिंह, सिंहको डमरु हुनुहुन्छ । यसको अर्थ यो पनि हो कि, उहाँ प्रतिज्ञा गरिएको राजा, महिमाका प्रभु र मानिस जातिको मुक्तिदाता हुनुहुन्छ । उहाँ साँचो राजा, जातिजातिको आज्ञाकारिता दिइएको सिंहको डमरु उहाँ नै हुनुहुन्छ । उहाँको शक्ति, उग्रता, र बलले उहाँलाई योग्य बनाएको होइन तर उहाँले एक थुमाको रुपमा मानिसजातिको पाप प्रायश्चित, अर्थात् उद्धार गनुभएको छ । बप्तिसमा दिने यूहन्नाले उहाँको पृथ्वीको सेवकाइको शुरुवात्मा नै यसरी घोषणा गर्दछन्, “हेर संसारको पाप उठाइलैजाने परमेश्वरको थुमा” (यूहन्ना १ः२९) ।

येशू योग्यको हुनुहुन्छ, किनकी उहाँले दोषरहित, पाप रहित जीवन बिताउनुभयो । उहाँ पवित्र, र सिद्ध आज्ञाकारिताको एकमात्र उदाहरण हुनुहुन्छ । उहाँकेवल उदाहरणमात्र होइन, तर एकमात्र उद्धारकर्ता हुनुहुन्छ । उहाँको वलिदानको रगते पापको क्षमा, अर्थात् उद्धार ल्याएको छ । उहाँको मृत्यु र पुनरुन्थानले उहाँका मानिसहरुको निम्ति सुरक्षा, भलाई र अनन्त जीवनको निश्चयता दिएको छ । यो राजा यहूदाको कूलको, दाउदको घरानाको हुनुहुन्छ जो येशू हुनुहुन्छ ।

जब उहाँ पहिलो पटक आउनुभयो उहाँ थुमा भएर वलिदानको निम्ति आउनुभयो । तर उहाँ अब दोस्रो पटक आउनुहुँदा परमेश्वरको न्याय र क्रोधको मोहोर खोल्ने योग्यका यहूदाका कूलको सिंहको डमरु भएर आउनुहुन्छ र न्याय गर्नुहुन्छ ।

अझ प्रकाशको पुस्तकको अन्त्य तिर, अध्याय १९ मा यसरी लेखिएको छ (११—१६)

११अनि मैले स्वर्ग खोलिएको देखें, अनि हेर – एउटा सेतो घोड़ा; अनि त्यसमाथि बस्नुहुनेचाहिँ विश्वासयोग्य र सत्य भनिनुहुन्छ; अनि उहाँले धार्मिकतामा न्याय र लड़ाइँ गर्नुहुन्छ ।
१२उहाँका आँखाहरू आगोको ज्वालाजस्तै थिए, र उहाँको शिरमाथि धेरै मुकुटहरू थिए; अनि उहाँमा एउटा नाम लेखिएको थियो, जुन नाम उहाँले बाहेक अरू कसैले पनि जान्दैनथियो ।
१३अनि उहाँले रगतमा चोपिएको पोसाक पहिरनुभएको थियो; अनि उहाँको नाम ‘परमेश्वरको वचन’ भनिन्छ।
अनि सेता र शुद्ध मिहिन मलमलका वस्त्र पहिरेका सेनाहरू, जो स्वर्गमा छन्, सेता घोड़ाहरूमा उहाँको पछि–पछि लागे ।
१४अनि यही तरवारले उहाँले जाति–जातिलाई हिर्काऊन् भनेर उहाँको मुखबाट एउटा लाग्ने तरवार निस्कन्छ; १५अनि उहाँले फलामको डन्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ; अनि उहाँले सर्वशक्तिमान् परमेश्वरको भयानक रिस र क्रोधको मद्यको कोल कुल्चीमिल्ची गर्नुहुनेछ ।
१६अनि उहाँको पोसाक र उहाँको तिघ्रामा ‘राजाहरूका महाराजा र प्रभुहरूका परमप्रभु’ भन्ने नाम लेखिएको छ ।

के तपाईं यो राजाको सुरक्षा र भलाई चाहनुहुन्छ ? वा तपाईं यसको वास्ता राख्नुहुन्न ?
कृपया उहाँतिर दौडनुहोस्, र यो राजाले दिनुहुने छुटकारा र क्षमादानमा भरोसा राख्नुहोस् ।

(यो लेख शक्तिशाली बप्तिस चर्चमा ख्रीष्टमस सेवा, पुष १० गते २०८१ मा प्रचार गरिएको वचनको मुख्य पाठ हो ।)

Mr. Prem Narayan Bhattarai

Prem Narayan Bhattarai

Pastor

He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.

Leave a Reply

Your email address will not be published. Required fields are marked *