प्रार्थनामा सँगै प्रयत्न गर्ने चर्च
परिचय
चर्चको सामूहिक प्रार्थना केवल औपचारिकता मात्र होइन । सामूहिक प्रार्थनामा एउटा स्थानीय चर्चसँगै आत्मिक युद्धमा हुन्छ । हाम्रो व्यक्तिगत प्रार्थनाको जीवनको निरन्तरता नै चर्चको सामूहिक प्रार्थना हो । प्रार्थनामा हामी एउटा चर्चको रुपमा सुसमाचारको काम र प्रगतिका लागि सँगै परिश्रम गर्छौँ । चर्चले सुसमाचारका सेवकहरुको सेवकहरूको सुरक्षाका लागि प्रार्थना गर्नुपर्छ । सुसमाचारको कामद्धारा परमेश्वरको राज्यको विस्तारको निम्ति सँगै प्रयत्न गर्छौँ ।
एउटा अनौठो तथ्य छ— व्यक्तिगत प्रार्थनाको क्षेत्रमा कसैले पनि मैले चाहिने जति राम्रो गरिरहेको छु भन्न सक्दैन । त्यसैगरी एउटा चर्चले पनि हामीले पुग्दो प्रार्थना गरिरहेकाछौँ भन्ने विकल्प छैन । हामी व्यक्तिगत रुपमा एकजना वा सामूहीक रुपमा स्थानीय चर्च हामी प्रार्थनाको क्षेत्रमा सँगै परिश्रम गर्छौँ ।
प्रेरित पावलले रोममा भएका विश्वासीहरुलाई लेख्दा रोमी १५ः३०–३३ मा देखाउँछन्, प्रार्थना वास्तवमा के हो र यो कसरी प्रार्थनाद्धारा हामीसँगै संघर्ष गर्ने आत्मिक युद्धको क्षेत्र पनि हो । स्थानीय चर्चको निम्ति प्रार्थना, परिश्रम र संघर्ष सहितको युद्धको मैदान हो । यसलाई पावलले प्रयत्न गर्ने उत्साह दिएका छन् ।
१. प्रार्थनाको निम्ति प्रेरणा ।
पावलले पद ३० मा लेख्छन्, “अब हे भाइहरू, हाम्रा प्रभु येशू ख्रीष्टद्वारा र आत्माको प्रेमद्वारा म तिमीहरूलाई बिन्ती गर्दछुः मेरा निम्ति परमेश्वरलाई प्रार्थना गर्नमा मसँगै मिलेर यस उद्देश्यले संघर्ष गर ।” हामी किन प्रार्थना गर्न सक्छौँ ? यहाँ पावलले यहाँ दुईवटा प्रेरणाहरु दिन्छन् ।
पहिलो, प्रभु येशू ख्रीष्टद्धारा हामी हाम्रो प्रार्थनाको निम्ति प्रेरणा पाउँछौँ । किनकी ख्रीष्ट येशू नै हाम्रो प्रभु हुनुहुन्छ । हाम्रो प्रार्थनाको निम्ति आधार, हाम्रो अधिकार र पहुँच पनि प्रभु येशू ख्रीष्ट नै हुनुहुन्छ । पास्टर जोन म्याकआर्थर भन्छन्, “प्रार्थना विश्वासीहरुको निम्तिे जीवनरेखा हो— यसैबाट परमेश्वरको शक्ति हाम्रो जीवनमा प्रवाहित हुन्छ ।” हिब्रूका लेखकले पनि यसरी प्रोत्साहन दिन्छन्, “येशूको मृत्यु र पुनरुत्थानका कारण हामी अनुग्रहको सिंहासनमा निडर पुग्छौं” (हिब्रू ४ः१६) । विश्वासीको निम्ति प्रार्थनामा लागिरहन यो एउटा ठूलो प्रेरणाको श्रोत हो । हामीलाई हाम्रा पापबाट उद्धार गर्नुहुने मुक्तिदाता नै हाम्रो प्रार्थनाको आधार र मध्यस्थता हुनुहुन्छ । के यसले हामीलाई निरन्तर प्रार्थनामा प्रयत्न गर्न उत्साह दिँदैन त ?
दोस्रो प्रेरणा यो हो कि हामी आत्माको प्रेमद्धारा एकअर्कासँग प्रार्थनामा परिश्रम गर्दछौँ । हामी एकअर्कालाई प्रेम गर्छौँ भने एकअर्काको निम्ति निरन्तर प्रार्थना पनि गर्छौँ । यो साँचो हो तपाईँ जुन कुरालाई प्रेम गर्नुहुन्छ त्यसको निम्ति प्रार्थनामा माग्नुहुन्छ… खुरन्धार सम्झनुहुन्छ ।
यदि तपाईँ स्थानीय चर्चमा भएका चर्च सदस्यहरुलाई प्रेम गर्नुहुन्छ भने त्यो प्रेम तपाईँको प्रार्थनाको अनुशासनमा पनि देखिन्छ । हामी एकअर्कालाई प्रेम गर्छौ भने एकअर्काको निम्ति र एकअर्कासँग प्रार्थनामा सँगै परिश्रम पनि गर्छौँ । आत्माप्रतिको प्रेम सुसमाचार प्रचारमा पनि देखिन्छ । तपाईँ सुसमाचार प्रचारलाई प्रेम गर्नुहुन्छ भने यो प्रेम सुसमाचार प्रचारको निम्ति तपाईँको प्रार्थनामा देखिन्छ । के तपाईँ पापमा हराएका मानिसहरुलाई प्रेम गर्नुहुन्छ ? यदि हो भने, तपाईँ उनीहरुको मुक्तिको निम्ति पनि बिन्ति गर्नुहुन्छ । तपाईँका विश्वासमा नभएका परिवारका सदस्यहरु, आफन्त तथा छिमेकीहरुको निम्ति निरन्तर प्रार्थना गर्नुहोस् । उनीहरु ख्रीष्ट येशूमा भएको मुक्तिको ज्ञानमा आउन्भनि निरन्तर प्रार्थनामा प्रयत्न गर्नुहोस् ।
२. प्रार्थनाको निम्ति प्रयत्न ।
पावलले पद ३० मा नै अगाडी लेख्छन्, मेरा निम्ति परमेश्वरलाई प्रार्थना गर्नमा मसँगै मिलेर यस उद्देश्यले संघर्ष गर ।”
यहाँ प्रार्थना गर्नमा… संघर्ष गर भनिएको छ । नयाँ करारको मूल लेखाइ ग्रीकमा sunagōnizomai भनिएको छ । यसको अर्थ लडाईँ गर्नु वा कुस्ती खेल्नु भन्ने पनि हुन्छ । हामी प्रार्थनामा सँगै लडाईँ गरिरहेका हुन्छौँ । ख्रीष्टियान जीवनमा प्रार्थना एउटा सामूहिक आत्मिक लडाईँ हो । अर्थात् हामी एक्लै लडाईँको मैदानमा हुँदैनौँ तर अरु योद्धाहरुसँगै छौँ ।
पास्टर तथा लेखक जोन पाइपर भन्छन्, “प्रार्थना चर्चको मिशनका लागि प्रयोग गरिने युद्ध मैदानको वाकी–टोकी जस्तै हो ।” प्रार्थना गर्दा हामी आत्मिक युद्धको अग्र भागमा उभिन्छौं— आत्माहरूको उद्धारका लागि, सन्तहरुको पवित्रताका लागि । हामी सुसमाचारको उन्नतिको निम्ति सँगै प्रार्थनामा संघर्ष गर्दछौँ ।
३. प्रार्थनाका विषयवस्तुहरु ।
अब तल पदहरु ३१ र ३२ मा पावलले तीन क्षेत्रको निम्ति प्रार्थनाका विषयहरु राख्छन्—
- पहिलो, विरोधीहरुबाट छुटकाराको निम्ति । पावलको आशय छ, “म यहूदियामा भएका विश्वास नगर्नेहरूको हातबाट उम्कूँ…” । संसारमा र सुसमाचारको क्षेत्रमा विरोधीको उपस्थिति वास्तविक छ । परमेश्वरका जनहरूको सुरक्षाको निम्ति हामीले निरन्तर प्रार्थना गर्नुपर्छ । सुसमाचारको निम्ति ढोका बन्द गरिएका देशहरु जस्तै, अफगानिस्तान, साउदी अरेबिया, मोरोक्को वा उत्तर कोरिया जस्ता देशहरुको निम्ति हामी प्रार्थना गर्न सक्छौँ । त्यहाँका चर्चहरुको निम्ति, विश्वासयोग्य सन्तहरु, स्थानीय चर्चका पास्टरहरु र सुसमाचारका सहकर्मी मिशनरीहरुको सुरक्षाको निम्ति प्रार्थाना गर्न सक्छौँ ।
- दोस्रो, सेवाकाइको स्वीकार्यताको निम्ति । “…यरूशलेमका निम्ति मेरो जुन सेवा छ, त्यो सेवा पवित्र जनहरूका लागि ग्रहणयोग्य भएको होस् ।” विभिन्न स्थानमा भएका सेवकहरुको सेवकाइको फलको निम्ति हामीले निरन्तर प्रार्थना गर्न सक्छौँ । सुसमाचारको सेवकहरुको सेवाले चर्चको एकतालाई निर्माण गरोस् भनि प्रार्थना गर्नुपर्छ । मानिसको विश्वासयोग्य परिश्रममा पवित्र आत्मा परमेश्वरको आशीर्वादले मात्र अनन्तताको फल उत्पन्न गराउँछ । यसको निम्ति हामीले निरन्तर बिन्ति गर्न सक्छौँ ।
- तेस्रो, आनन्दपूर्ण संगतिको निम्ति, “…र म परमेश्वरको इच्छाद्वारा आनन्दसाथ तिमीहरूकहाँ आउन सकूँ र तिमीहरूसँग–सँगै ताजा हुन सकूँ ।” सुसमाचारको क्षेत्रमा हामी एउटा स्थानीय चर्च मात्र छैन । हामी सुसमाचारको निम्ति सँगै अरु चर्चहरुसँग पनि सहकार्य गर्छौँ । पावल, उनको र उनी अहिलेसम्म नपुगेको रोमको चर्चका माझमा भएको संगति र आनन्दको निम्ति उत्साहित छन् । र, यसको निम्ति प्रार्थनामा निरन्तर प्रयत्न गर्न उत्साह पनि दिइरहेकाछन् ।
४. प्रार्थनाको आत्मविश्वास ।
अन्त्यमा, प्रार्थनाको निम्ति भएको आत्मविश्वासलाई पनि यहाँ उल्लेख गरिएको छ । “अब शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहिरहून् ! आमेन !” पावलले आत्मविश्वास सहित अन्त्य गरिरहेकाछन् । प्रार्थना सुन्नु हुने परमेश्वर नै शान्ति दिनुहुने परमेश्वर पनि हुनुहुन्छ ।
पास्टर तथा लेखक मार्क डेभर भन्छन्, “प्रार्थना गर्नु भनेको हामी परमेश्वर होइनौँ भन्ने स्वीकार हो, प्रार्थनामा हामी उहाँ नै परमेश्वर हुनुहुन्छ भन्ने स्वीकार गरिरहेका हुन्छौँ ।” भनिन्छ “विश्वासको मुख्य अभ्यास भनेको प्रार्थनाको क्षेत्र हो ।” हामी प्रभुमा भरोसा गर्छौँ भने आत्मविश्वास सहित उहाँसँग माग्न प्रार्थनामा प्रयत्न पनि गर्छौँ ।

Prem Narayan Bhattarai
Pastor
He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.
