साँचो सिद्धान्त र आराधना
साँचो सिद्धान्तले आराधना गर्न प्रेरणा दिनुपर्छ । प्रेम आराधनाको एउटा अपरिहार्य पक्ष हो । प्रेमजस्तै आराधना पनि परमेश्वरप्रति गरिने प्रतिक्रिया हो, उहाँ को हुनुहुन्छ र उहाँले हाम्रो बारेमा के गर्नुभएको छ भन्ने कुराप्रतिको प्रतिक्रिया हो । त्यसकारण, चर्चका अगुवाहरुले साँचो सिद्धान्त घोषणा गरेर मानिसहरुलाई आराधना गर्नको लागि प्रेरणा दिनुपर्छ । तपाईका विश्वासीहरुले परमेश्वरको प्रशंसा गरुन् भन्ने तपाई चाहनुहुन्छ भने तिनीहरुलाई परमेश्वरको महानता देखाउनुहोस् । तिनीहरुले परमेश्वरलाई महिमा दिउन् भन्ने तपाई चाहनुहुन्छ भने तिनीहरुलाई परमेश्वरको महिमा देखाउनुहोस् । तिनीहरु प्रेममय समर्पणतामा परमेश्वरको सामु निहुरिउन् भन्ने तपाई चाहनुहुन्छ भने तपाईको प्रचार र शिक्षणमा उहाँको सार्वभौमिक शासनको चर्चा गर्नुहोस् ।
आराधना न त जगाउनुपर्ने भावनात्मक रोमाञ्चकता हो, न आराम गरेर प्राप्त गर्नुपर्ने दिमागी ध्यान नै हो । यो त परमेश्वरको महिमित सार र उहाँको पराक्रमी कामहरुको लागी हाम्रो हृदय, मन, प्राण र शक्तिले जनाउने प्रतिक्रिया हो । त्यसैले हामी आराधनामा केन्द्रित भएर होइन, तर परमेश्वरको सुन्दरता र पवित्रताको मनोहर दृश्यले मनका आँखा खोलेर आराधना उत्पन्न गराउँछौँ ।
यसको अर्थ, सङ्गीतले हाम्रा आराधना जगाउने होइन । सङ्गीत भनेको त हाम्रो आराधनाको लागि सवारी साधन हो । सङ्गीत भन्नुले चर्चमा गाउने भजन गायनलाई जनाउँछ । यदि तपाईको हृदय र दिमागले परमेश्वरको व्यक्त गर्न नसकिने वैभवको प्रशंसा गर्दैनन् भने साङ्गीतिक अनुभवमा जतिसुकै जोसिलो भएर आनन्द मनाए तापनि तपाईले आराधना गरिरहनुभएको हुँदैन ।
अझै ठूलो कुरा त, आराधना हाम्रो गायनमा बजाइने बाजाहरुमाथि कम निर्भर हुन्छ । चर्चमा बजाउने सङ्गीतले समूहको गायनलाई सहायता गर्नुपर्दछ, तर सङ्गीतको निश्चित शैलीले आराधना जगाउँछ भन्ने होइन । आराधना जगाउने चाबी भनेको परमेश्वरको महिमा र वैभव नै हो ।
साँचो सिद्धान्तले आराधनाको सार र शैली उत्पन्न गराउनुपर्दछ । त्यसले हाम्रो आराधनाको विषयवस्तु भर्नुपर्दछ । अनि हाम्रो आराधनामा प्रेरणा दिनुपर्दछ, किनकी आराधना सदैव परमेश्वरको महिमा र अनुग्रहप्रतिको प्रतिक्रिया हो ।
आराधनामा आफैलाई फुकाउने तरिका
हामीले आराधनामा आफैलाई फुकाउनुपर्छ, तर कहिलेकाहीँ सोच्ने तरिकाले होइन । तपाईले सन्तोषजनक रुपमा पठनको अनुभव गरिरहनुभएकोे छ कि छैन भन्ने कुरामा ध्यान केन्द्रित गरेर कथामा लिप्त हुन सकिँदैन । बरु, कथा अति आकर्षक हुँदा तपाई कथामा लिप्त हुन सक्नुहुन्छ, यतिसम्म कि तपाईले आफुलाई र आफुले पढिरहेको कुरालाई बिर्सन सक्नुहुन्छ ।
तपाईले आफ्ना जुत्तालाई नियालिरहनुभएको छ भने पहाडको शिखरबाट देखिने मनमोहक दृश्यमा आनन्द लिन सक्नुहुन्न । ती जुत्ताले तपाईलाई त्यहाँ ल्याए होलान्, तर तपाई त्यो दृश्यको निम्ति नै त्यहाँ पुग्नुभएको हुन्छ ।
आराधनामा आफुलाई फुकाउने प्रयास गरेर तपाईले आराधनामा आफुलाई फुकाउन सक्नुहुन्न । बरु, परमेश्वरलाई महिमा दिने लक्ष्य लिनुहोस्, किनकी उहाँ त्यसको योग्य हुनुहुन्छ र त्यही चाहनुहुन्छ । त्यसको निम्ति आवश्यक पर्ने साधनचाहीँ उहाँको सत्यताले भरिएको दिमाग र हृदय हो । तपाईले हरेकपल्ट साँचो सिद्धान्तलाई ग्रहण गर्नुहुँदा आराधनाको आगो बाल्नुहुनेछ ।
परमेश्वरको चरित्र र उद्धार गर्ने कामको प्रकाशले आराधनाको निम्ति इन्धन र आराधनाको पटकथा उपलब्ध गराउँछ । त्यसले हाम्रो आराधनालाई आकार, विषयवस्तु, जानकारी र प्रेरणा दिन्छ ।
साँचो सिद्धान्त आराधनाको निम्ति हो ।
साभार : बब्बी जेमिसन, (एउटा चर्च परमेश्वरको प्रेम तथा पवित्रतामा वृद्धि हुने तरिका), पृष्ठ संख्या १०५–१०७, प्रथम प्रकाशन २०२२ ।
पुस्तक खरिदको निम्ति गस्पल पब्लिकेसन