सदस्यहरूले पास्टरहरूसँग कस्तो व्यवहार गर्नुपर्दछ ?
चर्चको हरेक सदस्य परमेश्वरको सिंहासनसामु उभिनेछ र उसले आफ्ना सङ्गी सदस्यहरूका जीवनमा सुसमाचारलाई कसरी सुरक्षित पार्योभनी हिसाब बुझाउनेछ । (गलाती १ हेर्नुहोस्) । अनि, पवित्र आत्माले पास्टरहरू र एल्डरहरूलाई चर्चका निरीक्षकहरू बनाउनुभएको छ (प्रेरित २०ः२८; तीतस १ः७; १ पत्रुस ५ः२) । यसको अर्थ पास्टरहरू वा एल्डरहरूले समूहका दैनिक जीवनमा रेखदेख गर्ने चर्चको कामको प्रतिनिधित्व गर्दछन् । चर्चको अधीनमा बस्नु भनेको तिनीहरूकै अधीनमा बस्नु हो । खुला विचारले भन्नुपर्दा, सदस्यहरूले पास्टरहरूसँग कस्तो व्यवहार गर्नुपर्दछ त ?
१. सदस्यहरुले आफ्ना पास्टरहरूलाई औपचारिक रूपमा पुष्टि गर्नुपर्दछ । विभिन्न परम्पराहरू यसमा सहमत हुन्छन्, तर म यो विश्वास गर्दछु कि ख्रीष्टीयानहरू आफूलाई सिकाइएको कुराको निम्ति अन्ततः परमेश्वरको सामु उत्तरदायी हुनेभएकाले (गलाती १ हेर्नुहनेस्), चर्चका सदस्यहरू आफ्ना अगुवा चुन्न जिम्मेवार हुन्छन् । समूहहरूले एल्डरहरूलाई यो प्रक्रियामा अगुवाइ गर्न दिनुपर्छ, तर अन्तिम पुष्टि चाहिँ चर्चकै हुनुपर्दछ । (यस्तो अवस्था पनि हुन सक्दछ कि आफ्ना अगुवाहरूलाई पुष्टि गर्ने चर्चको अधिकार एउटा प्रेरितीय अधिकार हो जुन यसले प्रेरितीय साँचोहरूद्वारा पाएको हुन्छ । (प्रेरित १४ः२३ हेर्नुहोस्, साथै प्रेरित १ र प्रेरित ६ अध्यायहरूमा समूहको भूमिका पनि हेर्नुहोस् ।)
२. सदस्यहरूले आफ्ना पास्टरहरूलाई आदर गर्नुपर्दछ । आदर गर्ने विषयलाई बुझ्ने हाम्रो संस्कृतिको क्षमता निरन्तर घट्दै गइरहेको देखिन्छ । तर बाइबलले बालबालिकालाई तिनीहरूका बुबाआमाको आदर गर्न आज्ञा गरेझैँ, ख्रीष्टियानहरूले पनि आफ्ना पास्टरहरूको आदर गर्नुपर्दछ । बाइबलले पास्टरहरूलाई “दोहोरो आदर” दिन पनि आग्रह गर्दछ (१ तिमोथी ५ः१७) । अनि यसको अर्थ तिनीहरूलाई तलब दिनु पनि हो । (५ः१८)
३. सदस्यहरू आफ्ना पास्टरहरूको अधीनमा बस्नुपर्दछ । हिब्रूको पत्रका यी दुई पदहरूलाई ख्रीष्टियान जीवनसम्बन्धी हाम्रो बुझाइमा समावेश गर्नुपर्दछ— “आफ्ना अगुवाहरूलाई सम्झना गर, जसले तिमीहरूलाई परमेश्वरको वचन सुनाएका छन्; उनीहरूको चालचलनको परिणाम विचार गरेर उनीहरूको विश्वासको देखासिकी गर” (हिब्रु १३ः७) । “तिमीहरूका अगुवाहरूको आज्ञापालन गर र आफूलाई उनीहरूको अधीनतामा सुम्प; किनकि हिसाब दिनुपर्नेहरूले जस्तो गरी उनीहरू तिमीहरूका प्राणहरूका निम्ति जागा रहन्छन्; र यो काम उनीहरूले दुःख मान्दै होइन, तर आनन्दसाथ गरून्; किनकि यो तिमीहरूका निम्ति लाभदायक हुँदैन ।” (हिब्रू १३ः१७) ।
४. सदस्यहरूले आफ्ना पास्टरहरूको निम्ति प्रार्थना गर्नुपर्दछ । यी मानिसहरूकै जीवन र शिक्षाले चर्चलाई जीवित रहन सहायता गर्दछन् । तिनीहरूको निम्ति प्रार्थना गरिदिनुले हामीलाई फाइदा हुँदैन र ?
५. सदस्यहरुले अयोग्य पास्टरहरूको विरुद्ध आरोपहरू लगाउनुपर्दछ । तिनीहरू अग्रपङ्क्तिमा हुने भएकाले, पावलले अगुवाहरूको रक्षा गर्दछन् र तिनीहरू विरुद्ध आरोप लगाउनको निम्ति दुई वा तीनजना साक्षी चाहिने सर्त राख्छन् (१ तिमोथी ५ः१९) । त्यसैले, आफैलाई अयोग्य बनाउने एल्डरलाई सेवा गरिरहन चर्चले अनुमति दिनुहुँदैन ।
६. सदस्यहरूले सुसमाचारलाई अस्वीकार गर्ने पास्टरहरूलाई पदमुक्त गर्नुपर्दछ । गलातीको चर्चमा झूटा शिक्षा शिक्षकहरू प्रवेश गर्दाखेरि पावलले एल्डरहरुलाई हप्काएनन् । तिनले चर्चलाई हप्काए । पास्टरहरूले सुसमाचारलाई अस्वीकार गर्न वा अन्य झूटा शिक्षाहरू सिकाउन सुरु गर्दा, तिनीहरूलाई पदमुक्त गर्न परमेश्वरले चर्चका सदस्यहरूलाई आह्वान गर्नुहुन्छ ।
चर्च सदस्यता, जोनाथन लीमन, पृष्ठ सङ्ख्या, १०८—११०; पहिलो नेपाली संस्करण २०२२, गोस्पल पब्लिकेसन नेपाल द्वारा प्रकाशित ।