विवाहको केन्द्रमा ख्रीष्ट

परिचय

विवाहको सेवा केवल एउटा सामाजिक कार्यक्रम मात्र होइन; यो परमेश्वरको सामु हुने एउटा सामूहीक आराधनाको अवसर पनि हो । विवाहको समारोह आफैँमा एउटा सुन्दर अवसर हो । दुइ व्यक्तिहरूले पवित्र परमेश्वरको सामु, चर्चको उपस्थितिमा, आफ्ना परिवार र साक्षीहरूको अगाडि जीवनभरको करार बाँध्ने दिन हो । बाइबलले विवाहलाई साधारण सम्झौता होइन, तर एउटा पवित्र करारको रूपमा प्रस्तुत गर्छ (मलाकी २ः१४) ।

विवाह परमेश्वरको योजना हो । यो मानिसको आविष्कार होइन । बाइबलको पहिलो पुस्तक उत्पत्तिमा हामी पाउछौँ कि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, “परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो” (उत्पत्ति १ः२७) । परमेश्वरले यो पनि भन्नुभयो, “मानिस एक्लो रहन असल छैन” (उत्पत्ति २ः१८) । यसकारण परमेश्वरले स्त्रीलाई सृष्टि गर्नुभयो र पहिलो विवाहको स्थापना गर्नुभयो (उत्पत्ति २ः२१–२४) । यहाँ हामी देख्छौँ, विवाहको सृष्टिकर्ता परमेश्वर आफैँ हुनुहुन्छ ।

प्रभु येशू ख्रीष्टले पनि विवाहको यही सत्यता पुष्टि गर्नुभयो, “यसकारण पुरुषले आफ्ना बाबु र आमालाई छोड्नेछ, र आफ्नी पत्नीसँग मिल्नेछ, र तिनीहरू दुइ एक शरीर हुनेछन्” (मत्ती १९ः४–६) । विवाह केवल सामाजिक चलन वा सांस्कृतिक व्यवस्था मात्र होइन । विवाहको अन्तिम उद्देश्य संसारलाई ख्रीष्ट र उहाँको मण्डलीको सम्बन्धको चित्र प्रदर्शन गर्नु हो (एफिसी ५ः३१–३२) । ख्रीष्टियन विवाह वास्तवमा सुसमाचारको जीवित उदाहरण हो ।

पावलले कलस्सी ३ः१८–१९ मा यसरी लेख्छन्, “हे पत्नीहरूहो, तिमीहरू आफूलाई आ–आफ्ना पतिको अधीनतामा सुम्प; किनकि प्रभुमा यो उचित छ । हे पतिहरूहो, आ–आफ्नी पत्नीलाई प्रेम गर, र उनीहरूप्रति तीता नबन ।”

यहाँ विवाहको बारेमा तीन महत्वपूर्ण सत्यताहरू देख्छौँ,

  • पहिलो, ख्रीष्टियान विवाहको जग
  • दोश्रो, पत्नीको बोलावट
  • तेश्रो पतिको बोलावट

१. ख्रीष्टियान विवाहको जग

जगले समग्र संरचनाको निर्माण र स्थायित्वलाई प्रभाव पार्छ । विवाह कुन कुराको जगमा बसालिएको छ त्यसले विवाहलाई असर गर्छ । पावलले पद १८ मा भन्छन्, “प्रभुमा यो उचित छ ।” अर्थात् विवाहको जग प्रभु नै हुनुहुन्छ । यसले हामीलाई सम्झाउँछ कि ख्रीष्टियन विवाहको केन्द्रमा प्रभु येशू ख्रीष्ट नै हुनुपर्छ ।

विवाहमा एकअर्का प्रतिको आकर्षण, प्रेम, भावना र खुशी आवश्यक हुन्छन् । तर यी कुराहरू मात्र विवाहको स्थायी आधार बन्न सक्दैनन् । मानिसका भावना परिवर्तनशील हुन्छन् । मानवीय प्रेम अपूर्ण हुन्छ, शुरुमा यो न्यानो देखिए पनि समयसँगै सेलाउन सक्छ । जब जीवनमा क्रमशः संघर्षहरू आउँछन् तब खुशीहरू बिस्तारै हराउनसक्छन् । शारीरिक आकर्षण बिस्तारै ओइलाउन सक्छ । ख्रीष्ट मात्र सदा एक समान र स्थिर हुनुहुन्छ । उहाँ हिजो, आज र सदासर्वदा उही हुनुहुन्छ (हिब्रू १३ः८) ।

हामीले एउटा महत्वपूर्ण सत्यता सम्झनुपर्छ विवाह सिद्ध पुरुष र सिद्ध स्त्रीको मिलन होइन । विवाहको वास्तविकता यही हो कि विवाहमा एक पापी पुरुष र एक पापी स्त्रीको मिलन हुन्छ (रोमी ३ः२३) । तर ख्रीष्टियान विवाहमा सुसमाचारले आशा दिन्छ । ख्रीष्टियान सुसमाचारको सुन्दरता यही हो कि परमेश्वरले पापीहरूलाई अनुग्रहद्वारा बचाउनुहुन्छ (एफिसी २ः८–९) । ख्रीष्टियन विवाहमा पति र पत्नी दुवै जना उद्धार पाएका पापीहरू हुन्, जसले परमेश्वरको अनुग्रहमा भरोसा राख्दै सँगै जीवन जिउँछन् । जब प्रभु येशू ख्रीष्ट विवाहको केन्द्रमा हुनुहुन्छ, तब हामी एकअर्कालाई क्षमा गर्न सक्छौँ । र यहि सुसमाचारले नै हामीलाई विनम्र बनाउँछ ।

२. पत्नीको बोलावट

पावल भन्छन्, “हे पत्नीहरूहो, तिमीहरू आफूलाई आ–आफ्ना पतिको अधीनतामा सुम्प” (कलस्सी ३ः१८) । आजको संसारमा यस शिक्षालाई प्रायः गलत बुझिएको छ । यहाँ “अधीनता” भनेको असमानता होइन । परमेश्वरले स्त्री र पुरुष दुवैलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो (उत्पत्ति १ः२७) । त्यसैले मूल्य—मान्यता, सम्मान र गरिमामा दुवै समान छन् (गलाती ३ः२८) ।

परमेश्वरले विवाहमा हामीलाई भिन्न भूमिकाहरू दिनुभएको छ । पावलले लेख्छन्, “हे पत्नीहरूहो, प्रभुको अधीनमा रहेझैं आफूलाई आ–आफ्ना पतिको अधीनतामा सुम्प” (एफिसी ५ः२२) । यसको अर्थ पत्नीले आफ्नो पतिको नेतृत्वलाई सम्मान गर्दै, आफ्नो बुद्धि, दान र प्रेमद्वारा उनलाई अगुवाई गर्ने भूमिकामा सहयोग गर्नु हो ।

अधीनता जबरजस्ती कुरा होइन । यो परमेश्वरको बोलावटलाई स्वेच्छाले स्वीकार गर्ने कुरा हो । अधीनता भन्नुको अर्थ पतिको पापलाई पनि समर्थन गर्नु चाहिँ होइन । बरु पत्नीले प्रेम, नम्रता र आदरका साथ आफ्नो पतिको शारीरिक र आत्मिकी अगुवापनलाई स्वीकार गर्नु हो ।

३. पतिको बोलावट

अब पावलले पतिहरूलाई भन्छन्, “हे पतिहरूहो, आ–आफ्नी पत्नीलाई प्रेम गर, र उनीहरूप्रति तीता नबन” (कलस्सी ३ः१९) । यहाँ हरेक पतिहरूको मुख्य जिम्मेवारी स्पष्ट छ, आफ्नी पत्नीलाई प्रेम गर्नु । यो प्रेम केवल भावना मात्र होइन । यो बलिदानीपूर्ण प्रेम हो ।

पावलले एफेसीको पत्रमा प्रष्ट लेख्छन्, “हे पतिहरूहो, आ–आफ्ना पत्नीलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो” (एफिसी ५ः२५) । उहाँको चर्च निम्ति ख्रीष्टको प्रेम बलिदानी प्रेम थियो । चर्चको उद्धारको निम्ति कष्ट भोग्न आउनुभयो । पापीहरूबाटै उल्टै निन्दा पनि सहनुभयो । क्रूसको मृत्यु सम्म विनम्र बन्नुभयो । परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसैमा देखाउनुभयो कि हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो (रोमी ५ः८) ।

ख्रीष्टलाई पछ्याउने हरेक पतिले आफ्नी पत्नीको निम्ति त्याग गर्छ । पत्रुसले थप प्रष्ट बनाउँछन्, “यही प्रकारले हे पतिहरू हो, पत्नीलाई कमजोर पात्र सम्झी, साथै जीवनको अनुग्रहका साझा हकदारहरू सम्झी उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बन…” (१ पत्रुस ३ः७) । उद्धार गरिएका हरेक पतिले आफ्नी पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्छन् । उनीहरूले आफ्नी पत्नीको आत्मिक भलाइको वास्ता राख्छन् । उनीहरूले आफ्नी पत्नीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्छन् (एफिसी ५ः२८–२९) ।

निष्कर्ष

विवाह परमेश्वरको सुसमाचारको चित्र हो । हरेक ख्रीष्टियान विवाहले प्रभु येशू ख्रीष्ट र चर्चको सम्बन्धलाई प्रदर्शन गर्छ । ख्रीष्टले चर्चलाई प्रेम गर्नुभयो, र चर्चले ख्रीष्टलाई पछ्याउँछ । यही रहस्य हरेक विवाहले प्रदर्शन गर्नुपर्छ ।

  • विवाहितहरू, परमेश्वरको अनुग्रहमा भरोसा राखेर हरेक दिन जिउनुहोस् । हामी विवाहीत पति र पत्नी हरेकलाई विवाहमा प्रत्येक दिन परमेश्वरको अनुग्रह चाहिन्छ । किनकी अनन्तताको यो भागमा अर्थात् यस संसमा कुनै पनि विवाह सिद्ध हुँदैनन् । यसैकारण विवाहित पति र पत्नीहरू अनुग्रहको सुसमाचारलाई सम्झनुहोस् र एकअर्कालाई क्षमा दिन तत्पर रहनुहोस् । एक अर्कालाई सहनको निम्ति पवित्र आत्माको सहायतामा धैर्यता र नम्रतामा निरन्तर वृद्धि हुने लक्ष्य राख्नुहोस् ।
  • अविवाहित भाइ र बहिनीहरू, आफ्नो जीवनसाथीको छनौटमा ईश्वरीय बुद्धिको प्रयोग गर्नुहोस्। ख्रीष्टलाई प्रेम गर्ने र ख्रीष्टिलाई पछ्याउने लक्ष्यराख्ने व्यक्तिको निम्ति प्रभुसँग प्रार्थानामा बिन्ती गर्नुहोस् ।
  • ख्रीष्टमा मेरा प्रिय अविवाहित बहिनी, परमेश्वरलाई प्रेम नगर्ने र परमेश्वरको बचनको बारेमा वास्ता नराख्ने स्वभावका भाइसँगको सम्बन्धबाट भाग्नुहोस् ।
  • ख्रीष्टमा मेरा प्रिय अविवाहित भाइ, तपाईंहरू पनि ख्रीष्टको उद्धारको सुसमाचारको वास्ता नभएका, परमेश्वरलाई प्रेम नगर्ने, र परमेश्वरले तपाईंलाई दिनुभएको तपाईंको अगुवापनको दानलाई स्वीकार नगर्ने स्वभावका बहिनीबाट टाढै बस्नुहोस् ।
  • हरेक विवाहको लक्ष्य सेवा हुनुपर्छ । विवाहमा मैले के पाउँछु भनेर आफ्नो स्वार्थ नखोज्नुहोस् । विवाहलाई कहिल्यै आफ्नो सुविधा र स्वार्थको लागि प्रयोग नगर्नुहोस् । विवाहित पति र पत्नीले मैले कसरी मेरो विवाहमा एकअर्काको सेवा गर्न सक्छु भनि सेवा गर्ने मौका खोज्नुहोस । विवाहितहरूले कसरी चर्चको र चर्चका अरु विश्वासीहरूको सेवा गर्न सक्छौँ भनि आफ्नो विवाहद्वारा सेवा गर्ने मौका खोज्नुहोस् ।

यस संसारमा विवाह नै हाम्रो जीवनको अन्तिम लक्ष्य पनि होइन । हाम्रो जीवनको सबैभन्दा ठूलो उद्देश्य ख्रीष्टलाई चिन्नु र उहाँको महिमा गर्ने हो । हाम्रो विवाहले पनि हामीलाई ख्रीष्ट पछ्याउन सहायता गर्नुपर्छ । हरेक विवाहले हामीलाई पवित्रतामा निरन्तर बढाउनुपर्छ । हाम्रो विवाहले अरुहरूलाई पनि ख्रीष्ट पछ्याउन मद्दत गर्नुपर्छ ।

हाम्रो विवाहको यस संसारको यात्रामा, कहिले खुशी आउनेछन् र कहिले दुःख पनि आउनेछन् । विवाहमा हाँस्ने र रमाउने मौका आउनेछन् तर कहिलेकाहीँ सँगै रुने दिन पनि आउनसक्छन् । यस संसारको विवाहमा आनन्द हुनेछन् तर कहिलेकाहीँ सोचेको र योजना बनाएका कुराहरू आउनेछैनन् । सबै समयमा एउटै कुरा सम्झनुहोस् ख्रीष्ट येशूको अनुग्रह । ख्रीष्टलाई नै तपाईंको विवाह र परिवारको केन्द्रमा राख्नुहोस् ।

Mr. Prem Narayan Bhattarai

Prem Narayan Bhattarai

Pastor

He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.

Leave a Reply

Your email address will not be published. Required fields are marked *