साँचो चर्चका चिन्हहरू

गत वर्ष चितवनमा आयोजना गरिएको पास्टरहरूको एउटा सम्मेलनको क्रममा एकजना पास्टरले मलाई सोध्नुभयो, “हामी परमेश्वरका सन्तानहरू हौ भने किन यति धेरै ख्रीष्टियान सम्प्रदायहरूक ? के यसले हाम्रो माझमा विभाजन देखिएन र ? एउटै परमेश्वरका छोराछोरीहरू कसरी सम्प्रदायमा विभाजन हुनसक्छन् ?” ख्रीष्टियान चर्चको बारेमा यो एउटा साधारण तर आधारभूत प्रश्न हो। 

हाम्रो वरिपरि थुप्रै चर्चहरू र ख्रीष्टियान सम्प्रदायहरू छन् र सबैले आफूलाई साँचो भनी दावी गर्छन् । सबैले आफूलाई साँचो भनी दावी गर्ने स्वतन्त्रता पनि छ । तर कुन चर्च साँचो हो भनी कसरी थाहापाउने ? सुसमाचारको साक्षी दिने क्रम धेरै पटक मलाई ग्रैर ख्रीष्टियानहरूले पनि सोधेका छन्, “किन यति धेरै प्रकारका चर्चहरू हाम्रा वरिपरि छन् ?” यसले कहिलेकाहीँ ख्रीष्टियानहरूलाई नै पनि दुविधामा पार्छ।

ख्रीष्टियान चर्च इतिहासमा, विशेषगरी सुधारवाद अभियानको क्रममा साँचो चर्च चिन्नलाई साँचो चर्चका चिन्हहरूको बारेमा केही महत्वपूर्ण विषयहरू सिकाइएका छन् । त्यसयता यी चिन्हहरूलाई “साँचो चर्चका चिन्हहरू” पनि भनिन्छ । आज पनि यी विषयहरू हाम्रा निम्ति सहयोगीपूर्ण हुनसक्छन् । यी विषयहरू म यहाँ घमण्डले फुल्न र अरुलाई न्याय गर्नको निम्ति होइन तर ख्रीष्टको चर्चको निम्ति सहायता हुनसक्छन् भन्ने हेतुले छोटो चर्चा गर्न गइरहेको छु।

साँचो चर्चका प्राथमिक चिन्हहरू कम्तिमा यी तीनवटा हुन् भन्न सकिन्छः पहिलो, साँचो सुसमाचारको प्रचार। दोश्रो, बाइबलीय विधिहरूको साँचो अभ्यास। र तेश्रो, चर्च अनुशासनको बाइबलीय अभ्यास। 

१. साँचो सुसमाचारको प्रचार


साँचो चर्चको सबैभन्दा पहिलो र मुख्य चिन्ह भनेको सुसमाचारको शुद्ध प्रचार हो । चर्चले परमेश्वरको वचनलाई सत्यतापूर्वक प्रचार गर्नुपर्छ। परमेश्वरको वचनबाट शुद्ध प्रचार नहुने चर्चको आत्मिक जीवन कमजोर हुन्छ । एउटा चर्चको स्वास्थ्य, त्यस चर्चको पुल्पिटबाट हुने प्रचारले निर्धारण गर्छ। वचनको प्रचार अर्थात् सुसमचारले नै चर्चको सृजना गर्छ र चर्चको जीवनलाई चाहिने आत्मिक पोषण पनि दिन्छ। 

वचनको शुद्ध प्रचार भन्नुको अर्थ वचनको सत्यतालाई कत्तिपनि सम्झौता नगरी विश्वासयोग्य भएर प्रचार गर्नु हो । हरेक हप्ताको प्रचारमा मानिसका विचार होइन तर परमेश्वरको वचनको घोषणा गर्नुपर्छ। वचन नै हाम्रो अन्तिम अधिकार हो (२ तिमोथी ३ः१६–१७)। प्रचारमा पापको पश्चताप, परमेश्वरको क्षमादान र उद्धारको सन्देश प्रचार गर्नुपर्छ । यदि एउटा चर्चको जीवनमा परमेश्वरको वचनको शुद्ध प्रचार भइरहेको छ र त्यस प्रचारको अधिनमा विश्वासीहरू नियमित उपस्थित छन् भने त्यो नै परमेश्वरको चर्चको अस्तित्व हो।

चर्चमा हुने नियमित प्रचारमा मानिसको मनसाय होइन तर परमेश्वरको सारा मनसाय प्रकट गरिनुपर्छ (प्रेरित २०ः२७)। यदि चर्चले मानिसलाई खुसी पार्ने कुरामा मात्र ध्यान दिन्छ तर पाप, क्रूस, पश्चात्ताप, र विश्वासबारे प्रष्टसँग प्रचार गर्दैन भने त्यो चर्चले परमेश्वरको वचनलाई विश्वासयोग्य भएर प्रचार गरिरहेको छैन। चर्चका विश्वासयोग्य गोठालाहरू बाख्राहरूलाई मनोरन्जन दिन होइन तर भेडाहरूलाई चराउन बोलाइएका हुन् (यूहन्ना २१ः१५—१७)। 

तपाईँ चर्च सदस्य हुनुहुन्छ र यदि त्यो चर्चमा सुसमाचार अर्थात् परमेश्वरको वचन विश्वासयोग्य भएर प्रचार गर्न पाष्टर र गोठालाहरूले परिश्रम गर्दैनन् भने त्यो चर्चमा तपाईँको प्राण जोखिममा छ। यदि तपाई पास्टर हुनुहुन्छ, अनि वचनको विश्वासयोग्य प्रचार गर्नुहुँदा तपाईँको विरोध भइरहेको छ भने त्यहाँ ख्रीष्टको चर्चको वगालका भेडाहरू नभएर मनोरन्जन चाहने उद्धरा नभएकाहरूको भिड हुनसक्छ। यसकारण अझ निरास नभई जोसका साथ विश्वासयोग्य भई वचन प्रचार गर्नुहोस् परमेश्वरले सुसमाचारको निरन्तर र विश्वासयोग्य प्रचारद्धारा नै नबचाइएका प्राणहरूलाई बचाउनुहुनेछ (रोमी १०ः१७)। परमेश्वरको शुद्ध वचनप्रतिको भोक र तृष्णा नै बचाइएको मानिसको प्रमाण हो (१ पत्रुस २ः२)। 

२. बाइबलीय विधिहरूको साँचो अभ्यास


बाइबलीय विधिहरूको साँचो अभ्यास साँचो चर्चको दोस्रो चिन्ह हो। प्रभु येशू ख्रीष्ट नै उहाँको चर्चको शिर र मालिक हुनुहुन्छ र उहाँले नै आफ्नो चर्चको निम्ति दुइवटा विधीहरू दिनुभयो । चर्चले आफ्ना उद्धारकर्ताले दिनुभएका यी विधिहरूको विश्वासयोग्य भएर पालना गर्नुपर्छ। यी दुइ विधीहरू बप्तिसमा (मत्ती २८ः१९) र प्रभुभोज (१ कोरिन्थी ११ः२३–२६) हुन् । यी विधीहरू प्रभु येशूले आफु यस संसारमा हुँदा नै स्थापना गर्नुभयो । यी विधीहरूलाई कतिले पवित्र विधीहरू पनि भन्छन् । यी विधीहरूलाई हामी सुसमाचारीय विधीहरू पनि भन्न सक्छौँ।

यी विधीहरू धार्मिकता कमाउनको निम्ति होइनन् । यी विधिहरूको पालनाले बचाउने अनुग्रह प्रदान गर्दैनन् । बप्तिसमा पापको पश्चताप र विश्वासद्धारा पुनरुत्थानको संकेत दिन्छ (रोमी ६ः३–४) । बप्तिसमाद्धारा एकजना पाप पश्चतापगरी फर्किएको व्यक्तिले उसको विश्वासलाई चर्च र संसारकोअघि उसको विश्वास सार्वजनिक गर्छ । प्रभुभोजले ख्रीष्टले सिध्याउनुभएको बलिदानको कामलाई सम्झनागराउँछ (१ कोरिन्थी १०ः१६–१७)।

यि विधिहरूको पालनाले पापी मानिसलाई बचाउँदैनन् । यी विधीहरूले नयाँ जन्म दिने काम गर्दैनन् । यी विधिहरूको पालना वा अभ्यासले कुनै भौतिक वा शारीरिक आशिष मिल्दैन तर यी सुसमाचारीय विधीहरू हुन् । विश्वासद्धारा हामी आत्मिक आशिषमा सहभागिता जनाउँदछौँ । एउटा पापी मानिसले पश्चताप र ख्रीष्ट येशूको बलिदानमा सिध्याउनुभएको काममाथि विश्वासद्धारा उसको उद्धार हुँदछ। यो विश्वास परमेश्वरको दान हो । त्यसैगरी प्रभुभोजले उसको निरन्तरको पापस्वीकार र विश्वासमा प्रभुयेशूको प्रतिज्ञामा जिउने कुरालाई देखाउँछ।

एउटा साँचो चर्चले यी दुइ विधीहरूलाई विश्वासयोग्य भई अभ्यास गर्छ । एउटा साँचो चर्चले यी विधीहरूमा थप मानव निर्मित विधी र संस्कारहरू थप्दैनन् । यदि यी दुइ सुसमाचारीय विधी बाहेक थप विधीहरूलाई अनिवार्य बनाइ थप्ने काम गरिन्छ भने त्यो साँचो चर्च हुनसक्दैन । चर्चमा यी दुई बाइबलीय विधीहरू बाहेक अन्य अभ्यास र परम्परा थप्नु हुँदैन ।

३. चर्च अनुशासनको बाइबलीय अभ्यास


चर्च अनुशासनको बाइबलीय अभ्यास साँचो चर्चको तेश्रो चिन्ह हो । अहिलेको संसारमा “अनुशासन” शब्द कठोर लाग्न सक्छ, तर परमेश्वरको वचन बाइबलमा यसको उद्देश्य प्रेम, पवित्रता र पुनस्र्थापना हो । प्रभु येशूले नै चर्च अनुशासनको विषयमा सिकाउनुभयो । पाप स्वीकार नगर्ने भाइलाई चर्चको अघि ल्याउनुभनि प्रभु येशूले सिकाउनुभयो (मत्ती १८ः१५–१७)। पावलले पनि कोरिन्थको चर्चलाई सार्वजनिक भएको वा खुल्ला पापलाई नसहनु भनी सिकाएका छन् (१ कोरिन्थी ५ः१–७) । त्यसैगरी पावलले ख्रीष्टको चर्चमा विभाजन ल्याउने मानिसलाई पहिलो र दोश्रो चेतावनी दिएपछि कुनै सरोकार नराख्नु भनी सिकाए (तीतस ३ः१०)।  

एएटा चर्चको जीवनमा चर्च अनुशासन ख्रीष्टको चर्चको पवित्रताको निम्ति अनिवार्य हुन्छ । चर्चलाई शुद्ध राख्न र सुसमाचारको साक्षीलाई संरक्षण गर्न प्रभु येशू यो आज्ञा दिनुभयो । त्यसैगरी, पहिलो शताब्दिमा प्रेरितहरूले नयाँ करारका पत्रहरू लेख्दा पनि यो विषयमा चर्चलाई सिकाएका छन् । चर्च अनुशासनको बाइबलीय अभ्यासले पापमा जिउने विश्वासीलाई प्रेमपूर्वक सच्याउनु मद्दत गर्छ । त्यसैगरी यसले ख्रीष्टको चर्चको एकता, संगती र पवित्रतालाई जोगाउँछ । चर्च अनुशासनले चर्चलाई झूटा शिक्षाको जोखिमबाट पनि सुरक्षित राख्छ।

जुन चर्चको जीवनमा चर्च अनुशासनको अभ्यास नै छैन त्यो चर्च लामो समयसम्म शुद्ध रहन सक्दैन । एउटा प्रख्यात भनाई छ, “जब चर्चले अनुशासनलाई बेवास्ता गर्छ, ख्रीष्टले पनि त्यो चर्चलाई छोड्नुहुन्छ।” चर्च अनुशासन एउटा चिकित्सकको हातमा भएको कैची हो । यसले शुरुमा अलिकति पिडा दिन सक्छ वा दुःखाई हुनसक्छ तर अन्ततः त्यसले शरीरको हित गर्छ । बाइबलीय चर्च अनुशासनको अभ्यासले विश्वासीहरूको प्राणको सुरक्षा गर्छ, संसारकोअघि सुसमाचारको संरक्षणको गर्छ, अनि ख्रीष्टको चर्चको पवित्रतालाई जोगाउँछ। 

निष्कर्ष


साँचो चर्चको केन्द्रमा परमेश्वरको वचन हुनुपर्छ । साँचो, स्वस्थ्य र बाइबलीय चर्च यस संसारको संरचना र रणनीतिले निर्माण गर्दैन। चाल्र्स स्पर्जनका अनुसार, “परमेश्वरको वचनलाई केन्द्रमा नराख्ने चर्चले चाँडै आफ्नो शक्ति गुमाउँछ।” साँचो र शुद्ध चर्च संसारका सम्प्रादायीक धरणा, चर्चका परम्परा र मनवीय विचारमा निर्भर हुँदैनन् तर ख्रीष्टको चर्चले परमेश्वरको वचनको शुद्ध प्रचारमा भरोसा गर्छ। ख्रीष्टको चर्चले संसारको रणनीति र मानिसहरूको अनुभवलाई होइन तर वचनको शुद्ध प्रचारलाई पहिलो स्थानमा राख्नुपर्छ। बाइबलीय विधिहरूको ठीक अभ्यास र चर्चको अनुशासनको बाइबलीय अभ्यासले मात्र ख्रीष्टको चर्चलाई यस संसारमा सुसमाचारको उज्यालो साक्षी बनाउँदछ ।

थप अध्ययनको निम्ति श्रोतहरूः

  • एक स्वस्थ्य चर्च भनेको के हो ? मार्क डेभर, गोस्पल पब्लिकेसन, काठमाण्डौ नेपाल । 
  • The Church: An Introduction (Short Studies in Systematic Theology), Gregg R. Allison, Crossway, USA.The Church: The Gospel Made Visible, Mark Dever, B&H Acedemic, USA.
  • Nine Marks of a Healthy Church, Mark Dever, Crossway, USA.
Mr. Prem Narayan Bhattarai

Prem Narayan Bhattarai

Pastor

He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.

Leave a Reply

Your email address will not be published. Required fields are marked *