परमेश्वरको इच्छा अनुसारको प्रार्थना
परिचय
“ख्रीष्टियान प्रार्थाना” आशिष् पाउन वा परमेश्वरलाई खुसी बनाउनको निम्ति अर्पण गरिने कुरा होइन तर हामी ख्रीष्ट येशू प्रभुमा आशिषित बनाइएका कारणले प्रार्थानाद्वारा निरन्तर आराधना गर्दछौँ । वास्तवमा मानिस प्रार्थानाद्वारा आराधना गर्नको निम्ति सृजिएको हो ।
त्यसोभए‚ हाम्रो निम्ति प्रार्थाना गर्ने कुरालाई केले सम्भव बनाउँछ ? ख्रीष्ट येशू नै हाम्रो प्रभु हुनुभएको कारणले… । किनकि ख्रीष्टले हाम्रा छुटकाराको निम्ति आफैँलाई क्रूसमा अर्पण गर्नुभयो । पुनरुत्थान हुनुभएको ख्रीष्ट नै हाम्रो र पिताको माझमा उभिनुभएको छ । ख्रीष्टले नै अहिले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ ।
पावलले तिमोथीलाई राजा र शासकहरुको निम्ति निरन्तर प्रार्थाना गर्न प्रोत्साहन दिन्छन् (१ तिमोथी २:१—४) । पहिलो तिमोथीको पत्र प्रेरित पावलले आफ्नो आत्मिक छोरा तिमोथीलाई लेखेका हुन् । तिमोथी एफिससको चर्चमा अगुवाइ गरिरहेका थिए । यस पत्रको मुख्य उद्देश्य चर्चमा सही शिक्षा स्थापना गर्नु‚ झूटा शिक्षालाई सम्बोधन गर्नु र चर्चको सामूहिक आराधनाको जीवनलाई व्यवस्थित गर्नु थियो । पहिलो अध्यायमा पावलले झूटा शिक्षाको समस्याबारे कुरा गर्छन् र यहाँ दोस्रो अध्यायमा उनी चर्चको आराधनाको जीवनबारे निर्देशन दिन्छन् ।
पाठ : १ तिमोथी २:१–४
१यसकारण म यो अर्ती दिन्छु: सबैभन्दा पहिले सबै मानिसहरूका निम्ति विन्तीहरू‚ प्रार्थनाहरू‚ निवेदनहरू र धन्यवादहरू चढाइऊन्; २सारा भक्ति र इमानदारीमा शान्ति र चैनको जीवन बिताउन सकौं भनेर राजाहरू र सबै उच्च अधिकारीहरूका निम्ति चढाइऊन्। ३किनभने यो कुरा परमेश्वर हाम्रा मुक्तिदाताको दृष्टिमा असल र ग्रहणयोग्य छ; ४उहाँ सबै मानिसहरूले मुक्ति पाऊन्‚ र सत्यताको ज्ञानमा आऊन् भन्ने इच्छा गर्नुहुन्छ ।
यहाँ यो पाठबाट कम्तिमा तीन वटा महत्वपूर्ण कुराहरु अवलोकन गर्नसक्छौँ—
१. सबैभन्दा पहिलो प्राथमिकतामा प्रार्थना हुनुपर्छ ।
“यसकारण म यो अर्ती दिन्छु: सबैभन्दा पहिले सबै मानिसहरूका निम्ति विन्तीहरू‚ प्रार्थनाहरू‚ निवेदनहरू र धन्यवादहरू चढाइऊन् (पद १) ।”
यहाँ भएको “यसकारण” भन्ने शब्दले यो पदलाई अघिल्लो अध्यायसँग जोड्छ । पावलले परमेश्वरको अनुग्रह र उद्धारको कुरा गरेपछि अब सम्झाउँछन्— चर्चले प्रार्थना गर्नुपर्छ । “सबैभन्दा पहिले” भन्नुको अर्थ समयको हिसाबले शुरुको प्रार्थना मात्र होइन‚ महत्वको हिसाबले पनि प्रार्थानाको पहिलो स्थानको विषयमा हो । चर्चको जीवनमा पनि‚ प्रचार र शिक्षा‚ वा सेवा जस्तै प्रार्थनाको स्थान प्रथामिकतामा हुनुपर्छ ।
हामीले हाम्रा प्रार्थानाको समयमा के कस्ता कुराहरु समेट्छौँ ?
यहाँ चार प्रकारका प्रार्थनाको विषयमा उल्लेख छ । पावलले चार भिन्न शब्दहरु प्रयोग गरेका छन् र यी शब्दहरुले प्रार्थनाको व्यापकता र क्षेत्रको विषयमा थप प्रष्ट बनाउँछ । यसले थप देखाउँछ कि चर्चको प्रार्थना व्यापक र सन्तुलित हुनुपर्छ ।
- पहिलो‚ विन्ती (Supplications)— विशेष आवश्यकताका लागि परमेश्वरलाई पुकार्नु ।
- दोश्रे‚ प्रार्थना (Prayers)— परमेश्वरसँगको कुराकानी ।
- तेश्रो‚ निवेदन (Intercessions)— अरू मानिसहरूको निम्ति परमेश्वरसँग बिन्ती गर्नु ।
- चौथो‚ धन्यवाद (Thanksgiving)— परमेश्वरले गर्नुभएको कामका लागि कृतज्ञता व्यक्त गर्नु ।

२. सबै मानिसहरूका निम्ति प्रार्थाना गर्नुपर्छ ।
“सारा भक्ति र इमानदारीमा शान्ति र चैनको जीवन बिताउन सकौं भनेर राजाहरू र सबै उच्च अधिकारीहरूका निम्ति चढाइऊन् (पद २) ।”
पावलले स्पष्ट रूपमा भन्छन्‚ “राजाहरू र सबै उच्च अधिकारीहरूका निम्ति चढाइऊन्।” यसको अर्थ चर्चले चर्च भित्रको निम्ति मात्र वा आफ्नो निम्ति मात्र होइन तर पर्खाल बाहिरका विषयहरुमा पनि निरन्तर प्रार्थना गर्नुपर्छ । हाम्रा प्रार्थनाका दायरा संकुचित हुनु हुँदैन । कहिलेकाहीँ हाम्रा चर्चका प्रार्थना केवल आफ्ना सदस्यहरूको निम्ति मात्र‚ हाम्रा आन्तरिक खाँचो र आवश्यकताहरूमा मात्र सीमित हुन्छन् । तर परमेश्वरले हाम्रो संसारको बारेमा पनि चासो राख्नुहुन्छ ।
यो हप्ता हामी २ मुख्य ठूला घटनाहरुले घरेरिएका छौँ ।
- पहिलो‚ मध्यपूर्वमा भइरहेको युद्ध । जहाँ गत शनिबार अमेरिका र इस्राएलले संयुक्तरुपमा इरानमा आक्रमण गरेपछि‚ त्यसको जवाफमा इरानले कतार‚ युएई र इस्राएल लगायता देशहरुमा जवाफी आक्रमण गरेको छ । यस हप्ताभरी समाचारमा हामी यस विषयमा सुनिरहेका छौँ र पढिरहेका छौँ ।
- दोस्रो‚ भोली फागुन २१ मा नेपालमा प्रतिनिधी सभा सदस्यहरुको निम्ति निर्वाचन हुँदैछ । यसले देशमा नयाँ प्रधानमन्त्री र सरकार दिनेछ ।
यी दुवै विषयको निम्ति हामीले प्रार्थना गर्नुपर्छ । किनकि पावलले पद २ मा नै सम्झाउँछन्‚ सारा भक्ति र इमानदारीमा शान्ति र चैनको जीवन बिताउन सकौं भनेर राजाहरू र सबै उच्च अधिकारीहरूका निम्ति प्रार्थना र बिन्ति चढाउनुपर्छ । यसले राजनीतिक अगुवाहरुको निम्ति प्रार्थना गर्नुपर्ने आवश्यकतालाई औंल्याउँछ ।
पहिलो शताब्दीमा सम्राटहरु (राजा र सरकारी अधिकारीहरु) सुसमाचारको निम्ति खुल्ला थिएनन् र त्यस समयमा पनि उनीहरुको निम्ति प्रार्थाना गर्नु जरुरी थियो । सुसमाचारको निम्ति ढोका खुल्ला होस्‚ वा बाधा नहोस् भनेर साथै ख्रीष्टियानहरु भक्तिसाथ जीवन जिउन पनि निरन्तर प्रार्थाना गर्न जरुरी छ । हामीले शान्तिर र स्थिरताको निम्ति अनि‚ सुसमाचार प्रचारको वातावरणको निम्ति प्रार्थाना गर्नुपर्छ ।
३. सबै मानिसहरुको उद्धारको निम्ति प्रार्थाना गर्नु ।
“किनभने यो कुरा परमेश्वर हाम्रा मुक्तिदाताको दृष्टिमा असल र ग्रहणयोग्य छ; ४उहाँ सबै मानिसहरूले मुक्ति पाऊन्‚ र सत्यताको ज्ञानमा आऊन् भन्ने इच्छा गर्नुहुन्छ (पदहरु ३–४) ।”
नियमित प्रार्थना केवल हाम्रो इच्छा मात्र होइन । यो ख्रीष्टियान ड्युटी मात्र पनि होइन । यो हाम्रो धर्मकर्मको प्रयास पनि होइन । तर प्रार्थना परमेश्वरलाई मनपर्ने कुरा हो । यहाँ हामी परमेश्वरको हृदयलाई देख्छौँ । खासगरी‚ परमेश्वर चाहनुहुन्छ‚ सबै मानिसहरूले मुक्ति पाऊन्‚ र सत्यताको ज्ञानमा आऊन् । हाम्रो प्रार्थाना सुसमाचार र मिशनको निम्ति पनि हुनुपर्छ । जब —जब हामी सुसमाचार र मानिसहरुको मुक्तिको निम्ति संसारका मानिसहरुको लागि प्रार्थना गर्छौं‚ तब हामी परमेश्वरको उद्धारको योजनासँग सहभागी हुन्छौं ।
अन्त्यमा‚ हामी आफैँले–आफैँलाई जाँचौँ‚
- के हाम्रो ख्रीष्टियान जीवनमा प्रार्थना पहिलो प्राथामिकतामा छ ? कि यो केवल नित्य कर्म जस्तो बोझ बनिरहेको छ ?
- के हाम्रा प्रार्थनाहरु अरू मानिसहरूका लागि पनि केन्दित छन् ? कि हामी केवल आफु केन्द्रित र आफ्ना खाँचोको निम्ति मात्र सिमित छौँ ?
- के हामी हाम्रा देशका अगुवाहरु‚ राजनीतिक अगुवाहरु साथै राष्टिय तथा अन्तराष्टिय परिस्थितिको निम्ति प्रार्थाना गर्छौँ ? कि हामी बाहिरका कुराहरुमा चासो नै राख्दैनौँ ?
- के हामी मानिसहरुको उद्धारको निम्ति प्रार्थना गर्छौँ ? के परमेश्वरको इच्छा भए झैँ हामी पनि मानिसहरुको उद्धारको विषयमा चासो राखेर उनीहरुको मुक्तिको निम्ति प्रार्थाना गर्छौँ ?

Prem Narayan Bhattarai
Pastor
He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.
