परमेश्वरको प्रेम र हाम्रो प्रायश्चित (१ यूहन्ना ४ः९–१०)

हामी मानिसहरुलाई सबैभन्दा बढि कुन कुराको आवश्यकता पर्दछ ? हाम्रो मनमा सबैभन्दा पहिले रुपैया पैसा भन्ने विचार आयो होला । कसैले प्रशस्त सम्पत्ति; जग्गा जमिन सोच्यौँ होला । तर हामीलाई सबैभन्दा बढि प्रेमको आवश्यक पर्दछ । ख्रीष्टमस परमेश्वरको यहि प्रेमको बारेमा हो जसले हामीलाई जीवन दिएको छ । ख्रीष्टमसले हामीलाई परमेश्वरले हाम्रो निम्ति आफ्नो एकमात्र पुत्रलाई पठाउनुभएको कुराको सम्झना गराउँछ । यो ख्रीष्टमस परमेश्वरले हामीमा आफ्नो अगाप्य प्रेम प्रकट गर्नुभएको बारेमा हो ।

९. हामी उहाँद्वारा जिउन सकौं भनेर परमेश्‍वरले आफ्ना एकमात्र जन्माइएको पुत्रलाई संसारमा पठाउनुभयो – हामीप्रति परमेश्‍वरको प्रेम यसैबाट प्रकट भयो ।

सम्पूर्ण बाइबलले हामीलाई बताउँछ कि परमेश्वरले हामीलाई प्रेम गर्नु भयो र यो प्रेम उहाँले आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाएर प्रकट गर्नुभयो । तर हामीले सोच्नु पर्ने एउटा गम्भिर प्रश्न छ । हामीलाई यो प्रेमको आवश्यकता किन पर्यो ? किन परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई यस संसारमा पठाउनुपर्यो ?

यो कुरालाई बुझ्नको लागि हामी मानिसको अवस्थालाई बुझ्न आवश्यक छ ।

बाइबल पवित्रशास्त्रको पहिलो पुस्तक उत्पत्तिले हामीलाई बताउँछ कि परमेश्वरले हामी मानिस जातिलाई आफ्नै स्वरुपमा बनाउनुभयो (उत्पत्ति १ः२७)। उहाँसँगको सम्बन्धमा रहनको निम्ति मानिसलाई सृष्टि गर्नुभयो । मानिसलाई बनाइसकेपछि उनीहरुलाई अदन नामको बगैचामा त्यसको हेरचाह गर्न राख्नुभयो र आज्ञा गर्नुभयो कि तिमीहरुले बगैचाको सबै रुखको फल खान सक्छौ तर बगैचामा भएको असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु । तर मानिसले परमेश्वरको यस आज्ञा विरुद्ध त्यस रुखको फल खाएर पाप गरे (उत्पत्ति २ः१५–१७; ३ः६,७)। अनि त्यहि आज्ञा पालन नगरेको कारण पाप आयो र पापको कारणले मानिस र परमेश्वरको सम्बन्धमा फुट आयो । उनीहरुले गरेको यो पाप केवल उनीहरुमा मात्र सिमित रहेन तर उनीहरुका सन्तान र भावी पुस्तामा यो पाप सरिआएको छ । त्यसैकारण हामी जन्मदै पापी स्वभावमै जन्मन्छौँ ।

तपाईले यस्तो विचार गर्न सक्नुहुन्छ कि मैले कुनै पाप गरेको छैन, धर्मकर्म गरिरहेको छु, समाजसेवा गरिरहेको छु त ! यसो हो भने तपाई भ्रममा हुनुहुन्छ । हामी पापी स्वभावमै जन्मिएका कारणले हामीले जतिसुकै राम्रो सेवाको काम गरे पनि हामीले परमेश्वरलाई खुसी पार्न सक्दैनौँ र हाम्रो मुक्ति कमाउन सक्दैनौँ ।अनि यसले हामी आत्मिकरुपमा मरेका छौँ भन्ने जनाउँछ । परमेश्वरसँगको सम्बन्ध विच्छेद हुनु आत्मिक रुपमा मृत्त हुनु हो । त्यसैकारण, पद ९ मा यूहन्नाले हामी उहाँद्धारा अर्थात् ख्रीष्ट येशूद्धारा जिउन सकौँ भनेर परमेश्वरले उहाँलाई पठाउनुभयो । ख्रीष्टमस येशूको जन्मको बारेमा हो भन्दै गर्दा, तपाई यो नाम पहिलो पटक सुनिरहनुभएको वा पढिरहनुभएको छ भने तपाईलाई अनौठो लाग्न सक्छ ।

येशू को हुनुहुन्छ त ?

येशू प्रतिज्ञा गरिएको राजा हुनुहुन्छ, जसले सबै जातिका मानिसहरुलाई उनीहरुको पापबाट उद्धार गर्नुहुनेछ । उहाँ परमेश्वरको एकमात्र जन्माइएको पुत्र हुनुहुन्छ । यो शब्द “जन्माइएको” ले येशू ख्रीष्टको बारेमा दुई वटा सत्यताहरु बताउँछ:

  • पहिलो, परमेश्वरले सबैकुरा सृष्टि गर्नुभन्दा अघिदेखि नै पिता परमेश्वर र पुत्र परमेश्वर अर्थात् ख्रीष्ट येशू एकअर्कासँगको सम्बन्धमा हुनुहुन्छ । अनन्तता देखिनै येशू परमेश्वरको पुत्र हुनुहुन्छ ।
  • दोस्रो, येशू पुत्र हुनु भएता पनि परमेश्वर पिता समान परमेश्वर पनि हुनुहुन्छ । त्रिएताको दोस्रो व्यक्तित्व हुनुहुन्छ ।

यहाँ पद ९मा, “जिउने” कुराले केवल यस संसारमा बाच्ने कुरालाई जनाउँदैन । तर यसले अनन्त जीवन लाई जनाउँछ । प्रियहरु, केवल येशूमा विश्वासद्धारा मात्रै तपाई जिउन सक्नु हुन्छ ।

यूहन्ना ३ः१६ ले बताउँछ कि,
किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एक मात्र जन्माइएको पुत्रलाई दिनुभयो – उहाँमाथि विश्‍वास गर्ने कोही पनि नष्‍ट नहोस्, तर उसले अनन्त जीवन पाओस् ।

येशू आफैले पनि यसो भन्नुहुन्छ; म त तिनीहरुले जीवन पाउन र त्यो प्रशस्त मात्रामा पाउन भनि आएँ (यूहन्ना १०ः१०)। किनकी येशू मात्र बाटो, सत्य र जीवन हुनुहुन्छ (यूहन्ना १४ः६)। प्रियहरु, पहिलो मानिस आदमबाट पाप आयो तर दोस्रो आदम जो ख्रीष्ट येशू हुनुहुन्छ उहाँबाट जीवन आयो । अनि यसैमा हामी परमेश्वरको प्रेमको प्रकट भएको देख्न सक्छौँ ।

अब परमेश्वरको प्रेम ख्रीष्ट येशूमा कसरी पूरा भयो त ?

१०. प्रेम यसैमा छ – हामीले परमेश्‍वरलाई प्रेम गर्यौ भनेर होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र आफ्ना पुत्रलाई हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनलाई पठाउनुभयो ।

परमेश्वरको प्रेम पाउनको योग्य हामी थिएनौँ । न ता हामीले परमेश्वरलाई पहिले प्रेम नै गर्न सक्छौँ । किनकी हामी मानिसहरु पापी छौँ र परमेश्वर पवित्र हुनुहुन्छ । यूहन्नाले भने झैँ पहिले परमेश्वरले हामीलाई प्रेम गर्नुभयो । प्रेमको सुरु परमेश्वरबाट भएको हो कारण परमेश्वर प्रेम हुनुहुन्छ । अनि त्यो प्रेमको स्पष्ट उदाहरण येशूद्धारा देखाउनुभयो । पावलले पनि रोमको चर्चलाई यहि कुरा लेख्छन् । रोमी ५ः८ मा, तर परमेश्‍वरले हामीप्रति आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छः हामी पापी हुँदा–हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।परमेश्वरको प्रेम हामी येशूद्धारा जिउन सकौँ भनि यस संसारमा आउनुभएको कुरामा देख्न सक्छौँ साथै त्यो प्रेम उहाँले हाम्रो पापहरुको प्रायश्चितमा पूरा भएको देख्न सक्छौँ ।

पद ९ मा, परमेश्वरले आफ्नो पुत्रलाई पठाएर प्रेम प्रकट गर्नुभएको छ । त्यहि प्रेम यहाँ पद १० मा येशूले गर्नुभएको प्रायश्चितको काममा चित्रित गरिएको छ ।

त्यसोभए, प्रायश्चित भनेको के हो त ?

यो प्रायश्चित शब्दले कसै एक जनाको ऋण अरु कुनै व्यक्तिले तिरिदिनु भन्ने जनाउँछ । उदाहरण : तपाई कुनै अपराधमा पक्राउ पर्नुभयो र अदालतमा दोषी ठहर गरिएर सजाए सुनाइयो तर तपाईले भोग्नु पर्ने त्यो सजाए तपाईको निम्ति अरु कसैेले भोगिदियो अनि तपाई फुकुवा हुनु भयो, त्यति मात्र होइन, तपाई उक्त अपराध र अपराधको दाग मुक्त हुनुभयो । उत्पत्तिको पुस्तकमा पापको कारणले पवित्र परमेश्वर र मानिस बिचको दुश्मनी आएको छ । यसको कारण पहिलो मानिस आदमको पाप थियो । बाइबलले हामीलाई बताउँछ कि पापको ज्याला मृत्यू हो । अनि यो मृत्यूको भागिदार तपाई र म थियौँ तर यो पाप ऋण येशूले तिरिदिनु भयो ताकि हामी उहाँद्धारा जिउन सकौँ ।

प्रायश्चितको उल्लेख गर्दै, यूहन्नाले भनेका छन् कि परमेश्वरको प्रेम यसैमा देखिन्छ कि उहाँले आफ्नो पुत्रलाई हाम्रा पापहरूको लागि उहाँको क्रोध पूर्णरुपमा बोकेर क्रूसमा क्रूर मृत्यु मर्न पठाउनुभयो, ताकि हामी क्षमा पाउन सकौं र मुक्ति पाउन सकौं । उहाँ मर्न आउनुभयो ताकि हामी उहाँद्धारा बाँच्न सकौं । येशूले परमेश्वर पिताको धार्मिक क्रोधलाई शान्त पार्नुभयो र हाम्रो साटोमा उहाँको न्यायको मागहरु पूरा गर्नभयो । हामीप्रति परमेश्वरको सिद्ध प्रेम पूरा गर्न येशू ख्रीष्टले यो गर्नुभयो । ख्रीष्टले क्रूसमा समाप्त गर्नुभएको कार्यद्धारा परमेश्वरको प्रेम पूर्ण रुपमा हामीमा प्रकट भयो । येशू ख्रीष्ट हाम्रो पापहरुको प्रायश्चितको निम्ति मर्नुभएको क्रूसले परमेश्वरको प्रेमको पूर्णतालाई प्रस्तुत गर्दछ ।

प्रियहरु, यो प्रेम तपाई निम्ति पनि हो । आफ्ना पापहरुबाट फर्कनुहोस् र येशूमा विश्वास गर्नुहोस् । तपाईले उद्धार पाउन सक्ने एउटै मात्र बाटो केवल ख्रीष्ट हुनुहुन्छ । हाम्रो जीवन हामीले सोचेको भन्दा निकै छोटो छ । हामी नेपालीहरुको औसत आयू पुरुषको ७१–७२ वर्ष, महिलाको ७३ वर्ष । हाम्रो मृत्यूपछि के त ? येशू यस संसारमा आउनुभयो ताकि तपाई र मेरो पाप क्षमा होउन्, र हामीले अनन्त जीवन पाउन सकौँ ।

मेरा ख्रीष्टियान मित्रहरु, हामी येशूमा विश्वास गर्ने मानिसहरुको रुपमा, परमेश्वरको यो सिद्ध र बलिदानी पूर्ण प्रेमले हाम्रो जीवनलाई कसरी रुपान्तरण गर्नुपर्छ ?

यूहन्नाले १ यूहन्ना ४ः११ मा यसरी लेख्छन्;
प्रियहरूहो, परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभयो भने हामीले पनि एक–अर्कालाई प्रेम गर्नुपर्छ ।

हामीले एकअर्कालाई गर्ने प्रेम कस्तो देखिनु पर्छ ?

जसरी परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा उहाँले हाम्रा पापहरु क्षमा गर्नुभएको कुरामा देख्दछौँ त्यसरी नै हाम्रो प्रेममा क्षमादान हुन आवश्यक छ । हामी केवल बोलीवचनले मात्र होइन, जिब्रोले मात्र पनि होइन, तर कामले र सत्यताले हामी प्रेम गरौं ! (१यूह. ३ः१८) कति पटक हामीले गर्ने प्रेम बाहिरी देखावटी मात्र हुने गर्दछ । तर ख्रीष्टमसको वास्तविक सत्यताले हाम्रो देखावटी प्रेमलाई चुनौँती दिन्छ । तपाईले कहिले विचार गर्नुभएको छ परमेश्वरले हामीलाई प्रेम गरेर आफ्नो पुत्र नपठाउनुभएको भए के हुन्थ्यो ? जसरी परमेश्वरले हामीलाई निस्वार्थ रुपमा बलिदानी प्रेम गर्नुभयो । त्यस प्रेमको अनसुरण गर्न हामीलाई आज्ञा गर्नुहुन्छ ।

निष्कर्ष

ख्रीष्टमस येशूको जन्म, जीवन, मृत्यू, पुनरुत्थान र स्वर्गारोहनको विषयमा हो । हामी ख्रीष्टमा विश्वास गर्ने मानिसहरु आनन्दसाथ ख्रीष्टमस मनाउँछौँ किनकी हाम्रो निम्ति एक जना पुत्र दिइनुभएको छ जसले हाम्रा पापहरु आफुमा लिनुभयो र हामीलाई उहाँको धार्मिकता पहिर्याउनुभयो ताकि हामी परमेश्वर पिताको अघि धर्मि ठहरिन सकौँ र परमेश्वरको न्यायपूर्ण धार्मिक क्रोधबाट बच्न सकौँ । जसरी हामीले यो प्रेमको वरदान सित्तैमा पायौँ त्यसरी अरुहरु प्रति प्रेमिलो र अनुग्रही जीवन जिऔँ ।

Mr. James Chaudhary

Mr. Jemes Chaudhary (James)
Pastoral Assistant

Leave a Reply

Your email address will not be published. Required fields are marked *