थुमाको रगतको शक्ति- सधैँको निम्ति अन्तिम वलिदान (The Power of the Lamb’s Blood- Once for All, the Final Sacrifice)

अरू प्रधान पूजाहारीहरूले जस्‍तै पहिले आफ्‍नै पापको निम्‍ति र त्‍यसपछि मानिसहरूका पापको निम्‍ति उहाँले दिनहुँ बलिदान चढ़ाइरहनुपर्दैन। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्‍ति एकै पल्‍टमा पूरा गरिदिनुभयो। हिब्रू‬ ‭७:२७

पुरानो करारमा थुमाको रगतको विषयमा यसरी लेखिएको छ “तिमीहरु बसेका घरहरुमा त्यो रगत तिमीहरुका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरुलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने विपत्तिले तिमीहरुलाई छुनेछैन” (प्रस्थान १२ः१३) । यहाँ प्रस्थान १२ अध्यायको १ पद देखी २० पद सम्म परमप्रभुले मोशालाई निस्तार चाडको स्थापनाको विषयमा उहाँको स्पष्ट योजना बताउनुभएको छ ।

परमेश्वर मिश्रमा भएका पहिलो जन्मेकाहरुलाई नष्ट गर्ने योजनामा हुनुहुन्थ्यो । यसको कारण चहिं मिश्रमा भएका झूठा देवताहरुको विरुद्धमा परमेश्वरले आफ्नो शक्तिलाई प्रमाणित गर्नको निम्ति पनि थियो । यसको निम्ति उहाँको एउटा सर्त थियो कि जसको ढोकामा रगत छर्किएको छ त्यस घरको पहिलो जन्मिएको (जेठो) लाई केही गर्नुहुने थिएन । जसको घरको ढोका थुमाको रगत थिएन त्यस घरमा विपत्ती पर्यो । यहाँ बुझ्नै पर्ने कुरा, थुमाको रगत बगाएर मात्र पर्याप्त थिएन तर त्यसलाई प्रयोगमा ल्याउनु नै पथ्र्यो । निस्तारको दिन, एउटा छुटकाराको दिन थियो जसलाई इस्राएलीहरुले मिश्रको दासत्वबाट परमेश्वरले दिनुभएको छुटकाराको स्मरणको निम्ति इस्राएलीहरुले उत्सवको चाड मनाउन शुरु गरे । यो एउटा जातीले मिश्रको राज्यबाट पाएको ताडना र दुःखको अन्त्य र छुटकाराको दिन थियो । यो छुटकाराको नेतृत्व मोशाले गरेका थिए ।

नयाँ करारका यहूदी मतबाट विश्वास गर्ने यहूदी इसाइहरु पनि येशूलाई निस्तारको वलिदान हुनुभएको थुमाको रुपमा स्वीकार गर्दथे । गमलियलको अधिनमा शिक्षा पाएका पावल आफैं पनि लेख्छन्, “मसिह हाम्रो निम्ति वलि हुनुभएको हो” (१ कोरिन्थी ५ः७) । येशू पनि निस्तारको थुमालाई वलि चढाएर रगत बहाउने समयमा नै क्रूसमा चढेर वलि हुनुभएको थियो (यूहन्ना १९ः१४) । निस्ताको थुमाको कुनै पनि हड्डी भाँचिएको हुनुहुँदैनथ्यो, येशूको पनि कुनै हड्डीहरु भाँचिएका थिएनन् (यूहन्ना १९ः३२–३६) । यसको अर्थ थुमा निष्कलङ्क र निष्खोट हुनुपर्छ, कुनै चोट रहित हुनुपर्छ भन्ने पनि थियो । येशूले निस्ताको थुमाको निम्ति राखिएका सम्पूर्ण मापदण्डपूरा गरि वलिदान हुनुभएको थियो । येशूको क्रूसमाको मृत्युअघिको अन्तिम रात्री भोजमा पनि निस्तारचाडको एउटा भोज थियो । येशूले बाँड्नुभएको रगत र शरीरको करार निस्तार चाडको निम्ति सम्झना र अर्को अर्थमा छुटकाराको चिन्ह पनि थियो (लूका २२ः१९–२०) ।

प्रस्थानको पुस्तकमा परमेश्वरले मोशालाई अह्राउनुभएको विवरणमा एउटा पशु थुमा (भेडाको पाठो) दिइएको थियो (प्रस्थान १२ः२९) । यो मिश्री र मिश्रका राजा फारोबाटको छुटकाराको निम्त अन्तिम विपत्ती पनि थियो । वास्तवमै यो विपत्ती पछि चाहिं मिश्री राजा फारोले इस्राएलीहरुलाई छुटकारा पनि दिए (प्रस्थान १२ः१४) । थुमाको रगत बगाउनु, यसको मासु पोलेर खानु र रगत ढोकामा लगाउनु भन्नुभएको थियो । बप्तिसमा दिने यूहन्नाले येशूलाई त्यही थुमाको रुपमा चिनाएका छन् (यूहन्ना १ः२९) । येशूलाई खोट रहित थुमाको रुपमा पत्रूसले उल्लेंख गर्दछन् (१पत्रूस १ः१९) । पापबाट साँचो छुटकाराको रगत बहाउने थुमा येशू हुनुहुन्थ्यो भनेर हिब्रूका लेखकले उल्लेख गरेका छन् (हिब्रू ४ः१५) ।

जसरी मिश्रको बन्धनबाट छुटकाराको निम्ति एउटा थुमा र त्यसको रगत आवश्यक थियो ठीक त्यसैअनुरुप आज पापको बन्धनबाट छुटकाराको निम्ति थुमाको रगको आवश्यकता छ । पहिलो निस्तारको दिन प्रस्थानमा, जसरी निस्तारको थुमाको रगतले विपत्तीबाट जोगाएर एउटा जातीलाई छुटकारा दियो । आज, मानिसजातीलाई छुटकाराको निम्ति थुमा र त्यसको रगतको आवश्यकता थियो र येशूले त्यो आवश्यकता पुरा गर्नुभएको छ । येशूले एउटा थुमाको रुपमा दिनुभएको छुटकारा चाहिं पापबाट अनन्तताको निम्ति दिनुभएको छुटकारा हो । इस्राएलीहरुले पहिले र अहिले पनि यहूदीहरुले मिश्रको छुटकारको सम्झनामा थुमालाई रगत बहाएर सम्झना र उत्सव मनाउँछन् ठीक त्यसै गरी हामीले पनि येशूको रगतको बहाइ र यसबाट हामीलाई संसारको पाप र बन्धनबाट दिनुभएको छुटकाराको सम्झना स्वरुप उहाँको मृत्यु र पुनरुत्थानलाई सम्झनु पर्छ (१ कोरिन्थी ११ः२६) । येशूको रगतले उहाँमा पापको छुटकारा दिंदछ (एफिसी १ः७) । तर येशूको रगत र त्यसको छुटकारासँगै भुल्न नहुने कुरा चाहिं उहाँको दुःख हो । निस्तार चाडमा झैं हामी छुटकारा र त्यसको उत्सवलाई बढी जोड दिन्छौ, यो आवश्यक कुरा हो र महत्वपूर्ण पनि तर यसको निम्ति त्यो थुमाले गुमाएको जीवन, भोगेको दुःखलाई चाहिं महत्वको ठान्दैनौं । येशूमाथि विश्वास गर्ने उहाँका साँचो चेलाको रुपमा हामीले उहाँले भोग्नुभएको दुःखलाई राम्ररी मनन गर्नैपर्छ ।

प्रस्थानमा दिइएको थुमा हरेक घरको निम्ति घरको मालिकले चढाउनु, रगत बहानु र घरको ढोकामा त्यसको रगत छर्कनु पथ्र्यो । त्यस वलिदानले मिश्रबाट छुटकाराको निम्ति निश्चित उद्देश्यलाई पुरा गरेको थियो । अहिले नयाँ करारमा येशूले थुमारुपमा दिनुभएको वलिदानले यी कामहरु गरेको छ:

१. परमेश्वरसँगको सम्बन्धलाई मिलाप: उत्पत्तिमा अनाज्ञा कारिताको कारणले मानिस र परमेश्वरको बिचमा टुटेको सम्बन्धलाई मिलाप गराएर पुनः एक बनाएको छ ।
२. पापबाट छुटकारा: मानिसको पापको छुटकाराको निम्ति एकैपटक सबैको निम्ति वलिदान भएर पापबाट छुटकाराको मोल थुमाको वलिदानले पुरा गरेको छ ।
३. हामीलाई धर्मिकरण: हामी अझ पनि धर्मि भएका होइनौं, शरीर र संसारका अझ पनि पाप दोहोर्याउन सम्भावना छ तर थुमाको रगतले हामीलाई धर्मि ठहर्याएको छ ।
४. हाम्रो शुद्धता: हामी धर्मि ठहर्याइएता पनि सुद्ध र सिद्ध छैनौं तर उहाँको येशूको रुपमा विस्तारै निर्माण हुने क्रममा शुद्धताको प्रक्रियामा छौं ।
५. अंधकारको राजा (शैतान) माथि विजय: हामी थुमाको वलिदान पश्चात अझै पाप र यसको मालिक तथा अंधकारको राजा शैताको दासत्वमा छैनौं तर त्यसमाथि विजय भएका छौं ।

यी त भए केही उपलब्धीहरु जुन येशूको वलिदानबाट हामीले प्राप्त गरेका छौं । निस्तारको थुमाले मिश्रको दासत्वबाट इस्राएलीहरुलाई छुटकारा दिने शक्ति राख्दथ्यो र सो पुरा पनि गर्या । येशू अर्थात थुमाको रगतको शक्तिले अहिले हाम्रो निम्ति के गर्दछ त:

१. हाम्रो मृत्युको चिहानलाई खोल्दछ : एकपटक हामी जन्मसिद्ध पापको कारणले मृत्युको अधिमा थियौं । हामी शारीरिक मृत्युको साथै आत्मिक मृत्युको सिकार पनि थियौं तर येशूको रगतले त्यो आत्मिक मृत्युको चिहानलाई उघारेर हामीलाई जीवित बनाएको छ । हो, शारीरिक मृत्यमा हामी पर्छौं कारण चाहिं एकपटा शरीरमा हामी पापसँगै जन्मिएका छौं तर येशूको रगतको कारणले हामीले चिहान माथि पनि विजय पाएका छौं । यसको अर्थ चाहिं शारीरिक र आत्मक दुवै मृत्यको चिहानमाथिको विजय हो ।

२. हाम्रो निम्ति स्वर्गको ढोकालाई खोल्दछ: अब शारीरिक र आत्मिक दुवै मृत्यु र यसको चिहानमाथिको विजय पछि हामी र हाम्रो निम्ति स्वर्गको ढोकापनि खोलिएको छ । अब हामी केवल यो संसारको नागरिक मात्र होइनौं तर स्वर्गका नागरिक हौं । यसको अर्थ हाम्रो निम्ति स्वर्ग खुल्ला गरिएको छ ।

३. येशूलाई हाम्रो हृदयको मालिक बनाउँदछ: हाम्रो हृदय चाहिं शरीर र आत्मा दुवैको निम्ति उत्तिकै महत्वपूर्ण भाग हो । शरीर र आत्मा दुवै पक्षलाई चलाउन हृदयको भूमिका महत्वपूर्ण हुदँछ । थुमाको रगतको शक्तिले हाम्रो हृदयको प्रभु उहाँ येशूलाई नै बनाएको छ । तर यसको निम्ति उहाँमाथिको विश्वासको आवश्यकता पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *