खजुरको आइतबार (पाम सण्डे)
आइतबार अर्थात् पाम सण्डेलाई ख्रीष्टियानहरुले प्रभु येशू ख्रीष्टको यरूशलेममा विजयी प्रवेशको स्मरणकोरुपमा लिन्छन् । यो ऐतिहासिक विवरण नयाँ करारमा सुसमाचारका चारवटै पुस्तकहरुमा उल्लेख गरिएका छन् (मत्ती २१ः१—११; मर्कूस ११ः१—११; लूका १९ः२८—३८ र यूहन्ना १२ः१२—३०) ।
प्रभु येशू ख्रीष्टको यस संसारको सेवकाइको अन्तिम हप्तामा यस दिन उहाँ गधामा चढेर यरूशलेम प्रवेश गर्नुभयो । उहाँको यरुशलेम प्रवेशमा, भीडले उहाँलाई “होशन्ना !” भन्दै खजुरका हाँगा ओछ्याएर स्वागत गरे । भीडले उहाँलाई राजा माने, तर उनीहरूको अपेक्षा यस संसारमा रोमी शासकहरुबाटको राजनीतिक छुटकाराको निम्ति थियो । तर, येशू मानवजातीको पापबाट छुटकारा दिएर उहाँको अनन्तको राज्य स्थापनाको निम्ति आउनुभएको दाउद वंशको राजा हुनुहुन्थ्यो ।
यो विजयी प्रवेश ख्रीष्टको राज्यप्रवेशको घोषणा थियो । खजुरको आइतबार येशू ख्रीष्टको राजकीय प्रवेशको घोषणा हो । उहाँको राज्य यस संसारको होइन । येशूले भन्नुभयो, “मेरो राज्य यस संसारको होइन । मेरो राज्य यस संसारको हुँदो हो ता म यहूदीहरूकहाँ नसुम्पिइऊँ भनी मेरा सेवकहरूले लड़ाइँ गर्नेथिए; तर अब मेरो राज्य यहाँबाटको होइन ।” येशूले दाउदको सिंहासनमा अनन्तरुपमा राज्य गर्नुहुन्छ । उहाँ अहिले राजाकोरुपमा मानिसको हृदयमा राज्य (वास) गर्नुहुन्छ ।
खजुरको आइतबार जखरिया अगमवक्ताको भविष्यवाणीको पूर्णता पनि हो । जकयिाले यसरी भविष्यवाणी गरेका थिए, “हे सियोनकी छोरी, खूबै आनन्द गर्! हे यरूशलेमकी छोरी, जयजयकार गर्, हेर्, तेरा राजा तँकहाँ आउनुहुन्छ; उहाँ धर्मी र उद्धार पाएको हुनुहुन्छ; उहाँ नम्र र एउटा गधामाथि, अँ, एउटा गाँड़ू, गधाको बच्चामाथि चढ़ेर आउनुहुन्छ” (जकरियाह ९ः९, टि.बी.एस.) ।
येशू ख्रीष्टलाई एकजना आश्चर्यकर्म गर्ने अलौकिक परमेश्वरमात्र होइन तर पापबाट उद्धार गर्नको निम्ति आउनुभएको परमेश्वरको अनन्तको पुत्र हुनुहुन्छ भनि विश्वास गर्नु आवश्यक छ । यो विजय प्रवेश कुनै सेना र हतियारको लडाईँको विजय होइन । प्रभुयेशू सेवक—राजा हुनुहुन्छ । उहाँ वलिदानको थुमाको रुपमा आउनुभयो । येशू ख्रीष्टको यरुशलेम प्रवेश क्रूसको यात्रा हो । उहाँको पापीहरुका निम्ति कष्ट भोग्न आउनुभयो ।
यो खजुरको आइतबार, प्रभु येशूको दुःखभोग, क्रूसको मृत्य, र पुनरुत्थान तर्फको यात्रा हो । पापी मानिसको उद्धारको निम्ति केवल यो मात्र एउटा बाटो थियो— परमेश्वर—मानिस बलिदानको थुमा, उहाँको मृत्यु र पुनरुत्थानमा अनन्त जीवन ।

Prem Narayan Bhattarai
Pastor
He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.