आत्मिक विश्वासको व्यवहारिक पक्ष

हामी ख्रीष्टियानहरु धेरै पटक आत्मिक कुरा गर्छौं र आत्मिक दावीहरु गर्छौं । तर हाम्रो आत्मिक चासो सँगै हाम्रा भौतिक खाँचोलाई निश्चय नै कम आँक्न सकिंदैन । हामी शरीर र संसारमा रहेकाले हाम्रो भौतिक जीवन र यसको निम्ति हुन आउने खाँचोलाई अश्वीकार गर्न सकिंदैन । यसकारण हामी ख्रीष्टियानहरुले एकअर्काको भौतिक खाँचोलाई कसरी एकआपसमा मिलेर पुरा गर्न सकिन्छ सो कुराको पनि खोजी गर्नुपर्छ ।

पावलले फिलिप्पीको मण्डलीलाई लेख्दै गर्दा यो उत्साह दिनु भएको छ कि, तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर । फिलिप्पी २ः१ देखि ७ मा यसरी लेखिएको छ:

यदि ख्रीष्टमा केही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने, तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्मतिसाथ एउटै चित्तका भएर मेरो आनन्द पूरा गर । स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान । तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर । तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो । परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन । तर आफैलाई रित्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो ।

अहिलेको लकडाउनको परिस्थितिमा पनि हामी हाम्रो आत्मिक विश्वासलाई कसरी व्यवहारिक रुपमा जिउन सक्छौं त्यसको सक्दो खोजी गरौं । यहाँ म यसका दुईवटा तरिकाहरु राख्न चाहन्छु ।

पहिलो, एक अर्काको भार उठाउनु ।

तपाईंले आफ्नो मण्डलीका हरुको विषयमा चासो लिएर उहाँहरुको अवस्थाको विषयमा खोजी गर्नुहोस् । गलाती ६ः२ मा लेखिए झैं एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर । केवल मण्डलीका सदस्यहरुमात्र पनि होइन वरिपरीका छिमेकीहरुलाई हेर्नुहोस् कोही साँच्चै खोचोमा हुनुहुन्छ भने कृपया मद्दत गर्नुहोस् ।

दोस्रो, अरुहरुको निम्ति बिन्ति जाहेर गर्नु ।

बाइबलमा हामी केही व्यक्तिहरु देख्छौं जसले आवश्यकताको घडीमा मानिसहरुको निम्ति परमेश्वरको अघि अन्तरबिन्ती गरेका छन् । जस्तो अब्राहाम र मोशा त्यसको केही उदाहरणहरु हुन् । अब्राहाम र मोशा केही उदाहरण हुन् जसले आउनुहुने उद्धारकलाई औंल्याउँदछन् । मोशाले प्रस्थान ३२ अध्यायमा परमेश्वरसँग मानिसहरुको निम्ति बिन्ति जाहेर गरे र परमेश्वरले उनको बिन्ति पनि सुन्नुभयो । अब्राहामले पनि सदोमको निम्ति उत्तपत्ति १८ अध्यायमा बिन्ति जाहेर गरेका छन् । तर हामी यो पनि नसोचौं कि अब्राहाम, मोशा वा योना अगमवक्ताको पुस्तकमा निनवेका मानिसहरुको बिन्ति झैं परमेश्वरले सुन्नु नै हुन्छ ।

येशूले हामी सबै मानिसहरुको पापको खातिर पितासँग अन्तरबिन्ति गर्नुभयो र अनुग्रहद्धारा उद्धारको ढोका खोल्नुभयो । येशूद्धारा उद्धार पाएकाहरु हामी आज संसारको निम्ति येशूद्धारा पितासँग बिन्ति गरौं । हामी हाम्रो मण्डलीकाहरुको निम्ति, वरिपरीभएका छिमेकीहरुको निम्ति, नेपालीहरुको निम्ति र संसारभरी भएका मानिसहरुको निम्ति निरन्तर बिन्ति जाहेर गरौं । बिषेश अहिले संसारमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु, यो भाइरसको कारण प्रिय र परिवारका सदस्यहरु गुमाएकाहरुको निम्ति, सरकारमा भएका अधिकारीहरु, स्वस्थ्य क्षेत्रमा सेवारत व्यक्तिहरुको निम्ति सुरक्षाको निम्ति दिनरात सेवा गर्ने सुरक्षाकर्मीहरुको निम्ति पनि प्रार्थना गरौं । परमेश्वरको कृपा र साझ अनुग्रह (कमन ग्रेस) को निम्ति पनि प्रार्थना गरौं ता कि मानिसहरु आत्यावश्यक सामग्रहीहरुबाट बन्चित नहोउन् ।

Mr. Prem Narayan Bhattarai

Prem Narayan Bhattarai

Pastor

He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.

Leave a Reply

Your email address will not be published. Required fields are marked *