Statement Of Faith

(मिति २ नोभेम्बर २०१८ मा सदस्यहरूको बैठकले स्वीकार गरिएको)

१. पिता परमेश्वर :

हामी एक मात्र साँचो परमेश्वरमा विश्वास गर्दछौं । परमेश्वर त्रिएक: पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ, जो व्यक्तित्वमा तीन फरक, आफैंमा पूर्ण, अनन्त र एक–समान, अद्धितिय पहिचानमा हुनुहुन्छ । जो सर्वोच्च शासक, स्वर्ग र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ । परमेश्वर, उहाँको पवित्रता, न्याय, ज्ञान, कृपा र प्रेममा सधैं अपरिवर्तनीय हुनुहुन्छ । परमेश्वर सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी हुनुहुन्छ । उहाँ मानिसहरुको उद्धारकर्ता र न्यायकर्ता हुनुहुन्छ । परमेश्वरले सबै कुरालाई उहाँको सार्वभौमिकतामा र उहाँकै महिमाको निम्ति नियन्त्रण, अधिकार र शासन गर्नुहुन्छ । (व्य.६:४; यूह.१७:५; उत.१:१–२; यकू.१:१७; भ.सं.१०२:२७; १शामू.१५:२९; यूह.१:१; यशै.६:३; व्य.३२:४; रोम.१६:२७; एफ.२:४; १यूह.४:१६; भ.सं.११५:३; एफ.१:११; रोम.११:३६)

२. प्रभु येशू ख्रीष्ट :

प्रभु येशू ख्रीष्ट, परमेश्वरको पुत्र जो पुर्ण रुपमा मानिस र पुर्णरुपमा परमेश्वर हुनुहुन्छ । उहाँ कन्या मरियमद्वारा पवित्रआत्माबाट गर्भधारण भएर जन्मुभयो । उहाँले पापरहित जीवन जिउनुभयो र पूर्णरुपमा पिताको आज्ञाकारी भएर संसारमा जिउनुभयो । येशूले गर्नुभएका आश्चर्यकर्महरु, उहाँका अधिकारका प्रमाण हुन् जसले उहाँको शिक्षा साँचो हुन् भन्ने कुरा प्रमाणित गर्दछन् । पापी मानिसहरुको पापको दण्डको सट्टामा मोल तिर्न, अन्तिम र सधैंको निम्ति एकैपटक उद्धारको वलिदान भएर रगत बगाउन त्रूmसमा मर्नुभयो, चिहानमा गाडिनुभयो र तेस्रो दिनमा पुनरुत्थान हुनुभयो । उहाँ पुनरुत्थान भएको शरीरमा मानिसहरुको माझ चालिस दिन रहनुभयो, अनि धेरै मानिसहरुका साक्षीहरुका माझ स्वर्गमा उचालिनुभयो । उहाँ पिताको दाहिने हात पट्टि सिंहासनमा विराजमान हुनुहुन्छ । केवल येशू ख्रीष्टमात्र मानिस र परमेश्वरको बीच मध्यस्थकर्ता हुनुहुन्छ । परमेश्वरको उपस्थितिमा मानिसहरुको निम्ति उहाँले पितासँग अर्जबिन्ति गर्नुहुन्छ । (यूह १:१; २०:२८; रोम.९:५; गला.४:४; हिब.४:१५; मर्कू. १:२४; यूह १४:६; यशै.५३:५; १कोर.१५:३–४; एफ.१:७; प्रेर.१:९; हिब.१:३; रोम.८:३४) 

३. पवित्र आत्मा परमेश्वर :

हामी विश्वास गर्छौं कि पवित्र आत्मा सल्लाहकार हुनुहुन्छ । उहाँ येशूलाई महिमित पार्न र येशूको मुक्तिको काम मानिसहरुमा लागू गर्नको निम्ति उहाँ स्वर्गबाट पठाईनुभएको छ । पवित्र आत्माले मानिसहरुको पाप देखाइदिनुहुन्छ, पुनर्जीवनमा ल्याउनुहुन्छ र परमेश्वरको वचनको सही अर्थ बुझ्नको निम्ति समझशक्ति दिनुहुन्छ । पवित्र आत्मा हरेक नयाँ जीवन पाएको विश्वासीमा बास गर्नुहुन्छ र उहाँले मुक्तिको निश्चियता दिनुहुन्छ । हरेक उद्धार पाएका सदस्यहरुलाई येशूको रुपमा वृद्धि हुन शक्ति प्रदान गर्नुहुन्छ । पवित्र आत्माले विश्वासीलाई ख्रीष्टको शरीरमा एक बनाएर आरधना, सेवा र सुसमाचारको कामको निम्ति बल प्रदान गर्नुहुन्छ । (यूह. १६:८,१४; तित.३:५; यूह.३:६; १कोर.२:१४; एफ.१:११–१४, १७–१९; भ.सं.११९:१८; रोम.८:९; ८ः१५; २ कोर.३:१८; प्रेर.१:४, ३१; १कोर.२:४–५; एफ.५:१८)

४. बाइबल : 

बाइबल परमेश्वरको प्रेरणाद्वारा मानिसको निम्ति दिइएको उहाँको पूर्ण र अन्तिम प्रकाश हो । परमेश्वरले उहाँको व्यक्तित्व, काम र योजना यस अद्धितिय पुस्तकमा मानिसको निम्ति प्रकाश पार्नुभएको छ । मानिसको ज्ञान, विश्वास, उद्धार र अभ्यासको निम्ति यो स्पष्ट, पूर्ण, त्रुटिरहीत र अधिकार सम्पन्न परमेश्वरको वचन हो । बाइबल परमेश्वरको सार्वभौमिक नियन्त्रणमा मानिसहरुद्धारा लेखिएका पुरानो करारका ३९ र नयाँ करारका २७ वटा गरी जम्मा ६६ वटा पुस्तकहरुको संग्रह हो । स्थानिय मण्डलीको सम्पूर्ण शिक्षा, अभ्यास र विश्वासको निम्ति यो सधैं पर्याप्त छ । (हिब.१:२; २ तिमो.३:१६; यहूदा ३; प्रका.२२:१९; एफ.२:२०;  २ पत्रू.१:२१; यूह.१०:३५; भ.सं.११९:१६०; मत्त.४:४)

५. मानिस जाति :

पुरुष र स्त्री दुवै परमेश्वरको स्वरुपमा सृजिएका प्राणी हुन् र दुवैले जन्मसिद्ध नै मूल्य–मान्यता र मर्यादमा बराबर हैसियत राख्छन् । पुरुष र स्त्री दुवै आ–आफ्नो फरक भूमिका  द्धारा परमेश्वरलाई महिमा, आदर र प्रशंसा गर्नको निम्ति सृजिएका हुन् । मानिसको एकमात्र र महान् उद्देश्य परमेश्वरको आज्ञापालन गर्नु, उहाँको आरधना गर्नु, उहाँलाई प्रेम गर्नु र उहाँमा नै आनन्दित हुनु हो । पहिलो अभिभावक (आदम र हव्वा) ले अनाज्ञाकारी भएर परमेश्वरको विरुद्ध पाप (विद्रोह) गरेका कारण जन्मसिद्ध हरेक मानिस संसारमा परमेश्वरको विद्रोही (पापी) भएर र हरेक पक्षमा पूर्ण भ्रष्टतामा जन्मन्छन् । हरेक मानिस परमेश्वरको शत्रू, उहाँ सँगको आत्मिक सम्बन्ध विहीन र पापको दोषी भएर जन्मन्छन् र यसको परिणाम अनन्तको मृत्यु हो । यसैकारण,   परमेश्वरको स्वीकार योग्य भएर उहाँलाई प्रसन्न पार्न हरेक मानिस न्यायी परमेश्वरको अघि नयाँ जन्म पाएर, क्षमालाई स्वीकार गरी उहाँसँगको मिलापमा आउनु आवश्यक छ । (उत्त.१:२७; १पत्रू.३:७; व्य.६:५; रोम.५:१२; एफ.२:१–३; यर्मि.१७:९; रोम.८:७–८)

६. मुक्ति :

हामी विश्वास गर्दछौं, हरेक मानिसको मुक्ति सम्पुर्णरुपले परमेश्वरको अनुग्रहको काम हो, यो मानिसको असल कामद्धारा प्राप्त गर्न सकिदैन । मानिसको मुक्ति बाइबलीय सुसमाचारमा प्रभु येशूले सिध्याउनु भएको कामद्वारा मानिसहरुको निम्ति दिइएको छ । मानिसको मुक्ति येशूको मध्यस्थता र उहाँको बलिदानद्धारा मात्र सम्भव भएको छ । बोलाउनु भएकाहरुको निम्ति पाप स्वीकार र ख्रीष्ट येशूमा विश्वास द्धारा सित्तैंमा परमेश्वरले पापीहरुलाई प्रेमगरी क्षमा दिनुहुन्छ । ख्रीष्ट येशू प्रभुमा विश्वास गर्नेहरु केवल विश्वासद्धारा धर्मि ठहरिन्छन्, येशूको धार्मिक्ता नै उनीहरुको निम्ति पनि धार्मिक्ता गनिन्छ, परमेश्वरको परिवारमा उनीहरु ग्रहण गरिएका हुन्छन् र अनन्त जीवन प्राप्त गर्छन् । (एफ.२:८–९; २तिमो.१:९, २:२५; तित.३:५; हिब.७:२७; मत्त.११:२८; रोम.३:२८, ५:१९, ८:१५ १०:१३; १कोर.१:२४; प्रेर.११:१८; २ कोर.५:२१; यूह.३:१६)

७. मण्डली :

विश्वव्यापी मण्डली एउटा शरीर हो, यसको शिर येशू ख्रीष्ट स्वयंम हुनुहुन्छ र जसका सदस्यहरु येशूमा विश्वासगरी उद्धार पाएकाहरु मात्र हुन्छन् । मण्डलीको संसारमा देखिने रुप चाहिँ स्थानीय मण्डली हो, जसमा आरधना गर्नको निम्ति, एकअर्का प्रति उत्तरदायी हुन समर्पित सदस्यहरु हुन्छन् । सुसमाचारको खातिर मण्डलीमा हरेक सदस्यहरु परमेश्वरको सामुहिक आरधना, वचन प्रचारको सेवकाई, विश्वासीको बप्तिसमा र प्रभुभोज (दुई बाइबलीय विधीहरु)को बाइबलीय अभ्यास, पास्टरीय वास्तामा समर्पित हुनुपर्छ । मण्डलीको अर्थ भवन वा तथ्याङ्क (संख्या) होइन तर नयाँ जन्म पाएका र एकअर्काप्रति उत्तरदायी सदस्यहरुको समूह हो । सदस्यहरुले मण्डलीको पवित्रतालाई कायम राखि सुसमचार लाई निरन्तरता दिन ख्रीष्टको रुपमा वृद्धिहुदै, वचनको शिक्षाद्वारा मण्डलीका सदस्यहरु एक–अर्कालाई सच्याउन, सुधार गर्न र तालिम दिन निरन्तर जिम्मेवार बन्नुपर्छ । ख्रीष्टको शरीरको एकता मण्डलीको आन्तिरिक र अन्य मण्डलीसँग आपसी प्रेम, वास्ता र उत्साह द्धारा अभिव्यक्त गरिँदछ । साँचो स्थानीय मण्डलीहरु बीचको प्रेम र एकता बाइबलको ठीक व्याख्या (प्रचार) र सुसमाचारको विश्वासयोग्यतामा देखिँदछ । स्थानीय मण्डली– को संचालनको सम्पूर्ण जिम्मेवारी स्थानीय मण्डलीकै सदस्यहरुको हो । (मत्त.१६:८, १८:१५–२०, २८:१९; हिब.१२:२२–२३; कल.४:१५; एफ.२:१९–२२, ५:१९–२१; १कोर.११:२३–२६; हिब.१०:२३–२५; १ पत्रू.१:२२; २कोर.६:१४; १यूह.१:७; एफ.३:१०) 

८. बप्तिसमा र प्रभु–भोज :

पानीको बप्तिसमा र प्रभु–भोज, संसारमा सुसमचारको देखिने चिन्हको रुपमा येशूले स्थापना गर्नुभएका दुइ विधिहरु हुन् । यी केवल मण्डलीको निम्ति मात्र पालना गर्न दिइएका विधिहरु हुन् । यी विधिहरुको ठीक प्रयोगद्वारा सुसमाचार जोगाउनु मण्डलीको कर्तव्य हो । बप्तिसमाले येशूसँगको मिलापद्वारा मण्डलीमा प्रवेश भएको सार्वजनिक चिनारी दिन्छ तर बप्तिसमाले मुक्ति दिंदैन । बप्तिसमा पापको पश्चतापगरी, परमेश्वरमा विश्वास गर्ने, मुक्तिको निश्चयता भएका विश्वासीहरुको निम्ति मात्र र पानीमा पुर्ण डुवाऊद्धारा येशू ख्रीष्टको आज्ञापालनको निम्ति दिइन्छ । प्रभु–भोज सबैको निम्ति येशूको एकपटकको वलिदानको सम्झना र उहाँको आगमनको निश्चयताको निम्ति सबैको सामु मण्डलीले अभ्यास गर्ने विधी हो । प्रभु–भोज एक सम्झनाको विधी हो र यसमा प्रयोग भएका रोटी र दाखरस वास्तविक मासु र  रगतमा परिवर्तन हुँदैनन् । प्रभु–भोजको सहभागितामा शारीरिक (भौतिक) आशिष पाईंदैन, यसको आत्मिक आशिष विश्वासद्वारा प्राप्त गरिन्छ । (मत्त.२८:१९; रोम.६:३; कल.२:१२; १पत्रू.३:२१; लूक.२२:१९; १कोर.११:२३–२६)

९. दोस्रो आगमन र भविष्य :

येशू एक दिन फेरी उहाँको महिमामा फर्किनुहुनेछ । उहाँले मृतकहरुलाई पुनर्जीवित पार्नुहुनेछ र उहाँको धार्मिकतामा हरेकको न्याय हुनेछ । हरेक दुष्टलाई अनन्तको दण्डको निम्ति नरकमा पठाउनुहुनेछ तर उद्धार पाएकाजनहरु चाहिँ अनन्त जीवनमा प्रवेश गर्नेछन् । परमेश्वरले हरेक कुरा फेरी नयाँ बनाउनुहुनेछ र त्यहाँ परमेश्वरसँगको अनन्तको आनन्द र संगतिमा धर्मीजन रहनेछन्, र त्यहाँ सबैथोक सधैंभरी महिमित हुनेछ । (१थेस.४:१६; २थेस.१:१०; १यूह.३:२; मर्कू.१३:२६; मत्त.२५:४६; प्रका.२१:५)